images

२०८३ आश्विन १९ गते

images
images
images

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • काठमाडौं । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम संग्रहालयमा आउने गरेको संग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक संग्रहालयमा आएका छन् ।

    images
    images

    गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउछन्। शालिग्राम संग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक संग्रहालयमा आउने गरेको उनको भनाइ छ । ऋषि प्रपन्नचार्यले भने, “संग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको संख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै संग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”

    त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम संग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । संग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । संग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि संग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । गैँडाकोटबाट घुम्न आएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै संग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम संग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए । 

    images
    images

    नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाइन् । -रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend