images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा...

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौँ । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका छैनन् ।

    images
    images

    ‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ । शिक्षक कुरिरहेका छौं,’ परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षण शिक्षकले गर्ने काम हो । अरुले गर्न पनि मिल्दैन ।’उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै उनले शिक्षकहरु छिट्टै कपी जाँच्न आउने विश्वास व्यक्त गरे । ‘शिक्षकहरू छिटै फर्किनु हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

    एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ ।

    images
    images

    शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

    मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।

    महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटीको संयोजक नानुमाया पराजुली ऐन जारी हुने ग्यारेन्टी नभएको बताउँछिन् । ‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन । विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने । तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान पनि गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend