काठमाडौंः मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिना सम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भए अनुसार आज देखि आगामी वैशाख २२ गते सम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिनुभयो । तम्घास–रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको रमेश चौधरीले बताउनुभयो ।
रुरुक्षेत्रको पानीटङ्की थोर्गा–स्यालपोखरी–स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी–छत्रकोटको पिपलनेटा–दिगाम हुँदै रिडी–लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी–चारपाला–खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर रमेश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास—रिडी खण्डको प्रयोग नगर्न जानकारी पनि दिएको हो ।
सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुन सक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्था सहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख रमेश चौधरीले बताउनुभयो । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, रमेश चौधरीले भन्नुभयो ।
जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका–२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरी सम्मको खण्ड दुई साताका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्ड अन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ । जुभुङ्–सिस्ने–भट्टेचौरबाट बिरबाँस सडक र मजुवा–बलिथुम–झिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।




.gif)





