images

२०८३ आश्विन १९ गते

images
images
images

थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताए ।

    images
    images

    अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् ।यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन् । त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्रहालयमा रहेको अध्यक्ष महतोले बताए ।

    चितवन  राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् ।थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताए ।

    images
    images

    २०६६ सालमा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ ।सुरुमा निःशुल्क प्रवेशको व्यवस्था रहेकोमा पछिल्लो ६ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति २५ र विदेशीका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि  शुल्क लिने गरिएको समितिले जनाएको छ ।

    शुल्क लिन थालेपछि अवलोकनका लागि आउने पर्यटकको अभिलेख राख्न सहज भएको समितिका अध्यक्ष महतोले बताए । शुल्क लिन थालेको ६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी करिब चार हजार जनाले सङ्ग्रहालय अवलोकन गरेको अभिलेख छ ।गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नुभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर सामग्री सङ्कलन गरिएको हो । केही सामान भने खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिए ।

    सङ्ग्रहालयले पर्यटकीय गतिविधिमा टेवा पुगेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । अमलटारी क्षेत्रमा आउँदा वन्यजन्तु अवलोकन मात्र नभएर यहाँका आदिवासीको रहनसहन, कलासंस्कृतिको समेत अवलोकन गर्न सकिने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend