images

२०८३ आश्विन १८ गते

images
images
images

काठमाडौँका वडामा अनलाइन सेवा प्रणालीको निरीक्षण

काठमाडौँका वडामा अनलाइन सेवा प्रणालीको निरीक्षण

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएका अनलाइन सेवा प्रणालीहरूको निरीक्षण तथा सहजीकरणका लागि प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरू वडाहरूमा पुग्न थालेका छन्।

    images
    images

    मंगलबारदेखि सुरु भएको यसकार्य अन्तर्गत वडा नं. १६, १, र २६ मा प्रणाली सञ्चालनको अवलोकन गरिएको छ। निरीक्षणका क्रममा प्रणाली सुधार तथा प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि र सम्बन्धित कर्मचारीहरूको अपेक्षा तथा आवश्यकताहरू टिपोट गरियो।

    काठमाडौँ महानगरपालिकामा हाल ३२ वटा प्रणाली सञ्चालनमा रहेका छन् जसमा महानगर आफैँले निर्माण गरेका र संघीय सरकार तथा सम्बन्धित निकायहरूले कार्यान्वयनमा ल्याएका प्रणालीहरू समावेश छन्।

    images
    images

    हालै जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (CCIMS) कार्यान्वयन गरिएको छ। वडा सचिवहरूलाई तालिम दिएपछि पूर्ण रूपमा प्रणाली सञ्चालन गर्न वडाको तत्परता, तयारी र व्यवस्थापन बुझ्नका लागि निरीक्षण थालिएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको भनाइ छ।

    सूचना प्रविधि विभागले अनलाइन प्रणाली सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराएको छ। विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार केन्द्रबाट सहजीकरण आवश्यक परे केन्द्रबाटै तथा वडास्तरमा सहजीकरण आवश्यक परे त्यहीँ नै प्राविधिक जनशक्ति खटाइएको छ।

    निरीक्षणका क्रममा वडाहरूले एकल सेवा केन्द्र सञ्चालनको तयारी गरिरहेको बताएका छन्। वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठका अनुसार यो केन्द्र सञ्चालन भएपछि इ-अफिस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले प्रणाली सञ्चालन गर्न कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्दै लैजानुपर्ने बताए। वडा नं. २९ का अध्यक्ष कुश ढकालले अनलाइन शिफारिस प्रक्रिया सुरू भइसकेको जानकारी दिए।

    निरीक्षणका क्रममा इ-अफिस प्रणाली अन्तर्गत दर्ता, चलानी, टिप्पणी, चिठीपत्र व्यवस्थापन, महालेखा परीक्षकको कार्यालयको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) सञ्चालन, खरिद आदेश, भुक्तानी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो। साथै, वडास्तरबाट आवश्यक सहयोग प्राप्त गर्न नीतिगत, कार्यक्रमगत तथा बजेटगत पक्षमा केन्द्रसँग समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

    विद्युतीय सुशासनमा महानगर

    काठमाडौँ महानगरपालिकाले २०६१ सालदेखि वेभसाइट सञ्चालन गर्दै सूचना प्रवाह गर्न थालेको हो। २०६३ सालदेखि प्रशासन विभागले विद्युतीय हाजिरी प्रणाली लागू गर्‍यो। २०६८ सालमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली (VERS-MIS) कार्यान्वयन गरियो। २०६९ सालदेखि विद्युतीय नक्सा पास प्रणाली (EBPS) सञ्चालनमा ल्याइयो।

    ७० को दशकमा १९ वटा नयाँ प्रणाली विकास गरिए। यी प्रणालीहरूमा समाचार पोर्टल, मेट्रो न्युज प्रणाली, डिजिटल हस्ताक्षर, कोपोमिस (सहकारी व्यवस्थापन), फाइल ट्र्याकिङ प्रणाली, इ-डकुमेन्ट म्यानेजमेन्ट प्रणाली, राजस्व व्यवस्थापन प्रणाली, उपमहालेखा परीक्षक कार्यालयको “सूत्र” प्रणाली, स्मार्ट स्कुल व्यवस्थापन सफ्टवेयर लगायत समावेश छन्।

    वडास्तरमा सेवा सुधार गर्न इ-शिफारिस, इ-टिकटिङ, फ्रिहेल्थ, क्यु म्यानेजमेन्ट प्रणाली जस्ता सेवाहरू कार्यान्वयन गरिएका छन्। साथै, महानगरले एसएमएस, निःशुल्क टोल-फ्री सेवा, सामाजिक सञ्जाल तथा विभिन्न एप्लिकेसनमार्फत सूचना प्रवाह गर्दै आएको छ।भविष्यमा प्रिपेड सेवा, मेट्रो कार्ड, स्मार्ट ग्रिड आधारित खानेपानी तथा विद्युत् वितरण, स्वचालित पार्किङ, स्मार्ट यातायात प्रणाली, वातावरणमैत्री पूर्वाधारहरूलाई सूचना प्रविधिमा एकीकृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको महानगरको निष्कर्ष छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend