काठमाडौँ, २९ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरू बीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयता द्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु, शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भन्नुभयो । उहाँले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियाली साथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्य माथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।




.gif)





