काठमाडौँ । चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमुना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक ज्ञान दिइएको हो ।दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठुलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गरेका छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास सिलिन्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्नेजस्ता गलत अभ्यासले आगलागी निम्त्याउने बताए ।
कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीहरूले सिलिन्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका छन् । विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा प्रजिअ घिमिरेले जोड दिए ।ग्यास सुरक्षाबारे प्रजिअ घिमिरेले भने, “आज एलपीजी ग्यासबाट हुन सक्ने आगलागीजन्य विपद्को सिमुलेसन तथा डेमो प्रस्तुत गरियो । दैनिक जीवनको अभिन्न हिस्सा बनेकाले यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुन आवश्यक छ । यस अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान दिएको छ । पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्त्वपूर्ण हुन्छ । यहाँ सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पुर्याउन सके मात्र यसको वास्तविक सफलता मिल्नेछ ।”
हरेक घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय-समयमा त्यसलाई रिफिल गर्न उनले सुझाव दिएका छन् । साथै नियमित जाँच गर्दै सिकेको सीप अरूलाई पनि सिकाएर सुरक्षित रहन उनले आग्रह गरे ।




.gif)





