काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिमा बीमा कम्पनीहरुले हालसम्म २४ प्रतिशत मात्रै दाबी भुक्तानी गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार फागुन २१ गतेसम्म बीमा कम्पनीहरुले ३ अर्ब ५ करोड ६० लाख भुक्तानी गरेका छन् । जुन कुल दाबी परेको रकमको २४.१७ प्रतिशत मात्र हो ।
बीमा कम्पनीहरुले अझै ९ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । प्राधिकरणका अनुसार बाढी र पहिरोबाट भएको क्षतिमा कुल १२ अर्ब ६४ करोड ३२ लाख ८८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । जसमध्ये बीमा कम्पनीहरुले फागुन २१ गतेसम्म ३ अर्ब ५ करोड ६० लाख १० हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।
गत असोज दोस्रो साता आएको बाढी पहिरोले पुर्याएको क्षतिमा १४ निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सहित कूल १८ वटा निर्जीवन बीमा कम्पनीले सो भुक्ताी गरेका हुन ।अझै बिमा कम्पनीहरुले ९ अर्ब ५ करोड १० लाख ७३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुल ३ हजार ७ सय २८ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म २ हजार २ सय ७८ वटा दाबीको भुक्तानी भएको छ । १ हजार २ सय ८९ दाबीको भुक्तानी हुन बाँकी रहेको छ ।
प्राधिकरणले बाढी पहिरोले पुर्याएको क्षतिको बीमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको भए पनि कम्पनीहरुले दाबी भुक्तानीमा ढिलासुस्ती गर्दै आएका छन् ।




.gif)





