images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • क्यान्सर अस्पतालमा उपचार सहज गर्न बिरामीका...

क्यान्सर अस्पतालमा उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह

क्यान्सर अस्पतालमा उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५ औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन् । 

    images
    images

    आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याएकी मनमती भट्टले क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गरिन् । उनले भनिन्, ‘हामीलाई अस्पतालले दिने सुविधाका बारेमा जानकारी छैन । उपचार सहज हुनुपर्यो ।’ अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिरामीहरुप्रति स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार राम्रो बनाउनुपर्ने उनको भनाइ थियो । 

    सिरहाबाट आएर विगत चार महिनादेखि उपचार गराउँदै आएकी राजकुमारी सुनुवार ‘किमो’ लगाउने पालो कुरेर बसी राखेकी छन् । आइतबार किमो लगाउने पालो भए पनि बिहीबारदेखि नै अस्पतालमा भर्ना भएर बसेकी सुनुवार किमो नपाएर समस्या भएको गुनासो गर्छिन् । उनले थपिन्, ‘बिमाबाट पाउनुपर्ने औषधि पाउन सकिएको छैन । बाहिर किन्दा महँगो पर्छ ।” रगत पाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । यस अस्पतालमा नेपालसहित छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गर्दछन् ।

    images
    images

    विगतमा बिरामीले निकै दुःख पाउने गरेको भए पनि पछिल्ला दिनमा केही सहज बन्दै भने गएको छ । यद्यपि स्रोत, साधन र जनशक्तिको अभावमा बिरामीको अपेक्षाअनुसार चाहेजस्तो सेवा दिन कठिन भएको अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बताए ।उनले भने, ‘धेरै सहज बन्दै गएको छ । सेवाग्राहीले अपेक्षा गरेजस्तो बनाउने प्रयासमा छौँ ।’ कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, क्यान्सर बिजेता बन्दना खाँडलगायतले बालबालिका र महिलाहरुको उपचारमा सहजीकरण गर्न आवश्यक रहेको बताएका छन् ।

    बिरामीलाई सान्त्वना दिन सकेमा उपचारमा सहज हुने उनीहरुको भनाइ थियो । आदर्श नारी विकास केन्द्रकी अध्यक्ष मीना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराई रहनुभएका ३०० बढी बिरामीलाई फलफूल वितरण गरिएको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend