images

२०८३ आश्विन १९ गते

images
images
images

अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर उडाउन अनुमति अनिवार्य, प्रति उडान १० हजार तिर्नुपर्ने

अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर उडाउन अनुमति अनिवार्य, प्रति उडान १० हजार तिर्नुपर्ने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • पोखरा । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर ल्याण्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको हो । २०७९ सालमा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको छ । योसँगै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउनेछन् । तर उद्धारका लागि गरिएको उडानमा भने पैसा लाग्दैन ।

    images
    images

    गत आर्थिक वर्षमा मात्रै बेस क्याम्प क्षेत्रमा झण्डै २७० व्यावसायिक उडान भएका छन् । उनीहरूले हालसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अनुमति लिँदै आएका थिए । प्रति उडान ३ हजार लिएर अनुमति दिइएको एक्यापका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । ‘एक्यापले ३ हजार शुल्क लिएर उडान अनुमति दिँदै आएको छ । हेलिकप्टरमा उड्ने यात्रुले पनि प्रवेश शुल्क छुट्टै तिर्नुपर्छ,’ उनले भने । उद्धार उडानको रेकर्ड भने एक्यापसँग पनि छैन ।

    ‘हामीले अहिलेसम्म उद्धार उडानको रेकर्ड राखेका छैनौँ । सामान्यतः उद्धार उडानको पनि जानकारी एक्यापलाई गराउनुपर्छ,’ उनले भने, ‘तर पैसा नतिर्ने भएकोले त्यति व्यवस्थित डाटा राखिएको छैन । अबदेखि राख्ने भनेर लागेका छौँ ।’ एक्यापमा प्रवेश गर्दा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति १ हजार र त्यस बाहेक मुलुकका पर्यटकले प्रतिव्यक्ति ३ हजारका दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ । पालिकाले पनि थप शुल्क लिने भएपछि हेलिकप्टर कम्पनीहरू असन्तुष्ट छन् ।

    images
    images

    यद्यपि सिम्रिक एयरले शुल्क तिरेरै उडान गर्ने गरी पालिकासँग सम्झौता गरिसकेको पालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए । ‘अब अनुमति नलिएका कम्पनीले बेसक्याम्पमा उडान भर्न पाउँदैनन्,’ उनले भने, ‘सूचीकरण नभएका कम्पनीलाई उडानमा निरुत्साहित गरिएको छ ।’ तोकिएको कम्पनी बाहेक अन्यले उडान भर्न चाहेमा प्रति उडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था राखिएको छ । हेलिकप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।

    योसँगै अन्नपूर्ण क्षेत्रमा प्रति दिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । ‘धेरै उडान हुँदा पदयात्रामा जाने पर्यटक र वन्यजन्तुलाई असर परेको गुनासो छ । त्यसैले उडान संख्या कार्यविधिमा नै व्यवस्थित गरिएको हो,’ अध्यक्ष केसीले भने, ‘बढी उडान गरे कारबाही हुन्छ । जलवायु परिवर्तनको असरलाई समेत ध्यान दिएर कार्यविधि तयार गरिएको हो ।’ कार्यविधिमा पालिका अध्यक्षको संयोजकत्वमा सहजीकरण समितिको परिकल्पना गरिएको छ । उडान व्यवस्थित रुपमा सञ्चालन भए नभएको हेर्ने दायित्व यही समितिको हुनेछ ।

    उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक एक जना कर्मचारी पालिकाले खटाउने छ । अन्य कम्पनीलाई पनि सूचीकरणका लागि आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । ‘आह्वान गरेका छौँ । अरू कम्पनी आएका छैनन्,’ उनले भने, ‘२ पटकसम्म सूचना निकालेर १४ वटै कम्पनीलाई पत्राचार गरियो । एउटा कम्पनी दर्ता हुन आएको छ । अरू दर्ता नभएकाहरूले पटके रूपमा २० हजार शुल्क तिरेर उड्छन् ।’

    एक्यापमा भएको रेकर्डकै आधारमा कम्पनीसँग शुल्क असुल गरिने उनले बताए । ‘हामीले एक्यापसँग समन्वय गरेका छौँ । त्यहाँ उडान अनुमति लिँदा जति रेकर्ड छ, त्यसैको आधारमा उडान यकिन हुन्छ,’ अघि भने, ‘संख्या त्यसैलाई गनेर पालिकामा पैसा तिर्ने हो । कसैले बदमासी गर्ने भन्ने हुँदैन । निगरानी गर्न कर्मचारी राखिएको छ ।’ हेलिकप्टर उडान शुल्कबाट पालिकाले वर्षमा डेढ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend