काठमाडौं । विदेशी पर्यटकहरूलाई हवाई कम्पनीहरूले चौगुना भाडा थोपरेर लुट मच्चाई रहेको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी अदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसी व्यक्त गर्दै सो जानकारीसमेत दिएको छ ।फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सरोकारवाला पक्षहरूलाई वर्षौँदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए ।
रावलले विगत २ वर्षदेखि अदालतमा कानुनी लडाई लड्दै आएको जनाउँदै भने, ‘विभिन्न नियकायहरूलाई ध्यानाकर्षण गराउँदा कसैले सुनेन, त्यसैले अदालतको ढोका ढकढकाउन बाध्य भएँ, अब अदालतले सकारात्मक बाटो देखाएको छ ।’ सुरुमा सर्वोच्च अदालतमै मुद्दा हाल्दा तत्कालिन्, न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलाशले सो मुद्दालाई खारेज गरेको बताउँदै भने,‘अघिल्लो समयमा राम्रो नबुझी पूर्वाग्रही ढंगले खारेज गरियो त्यसपछि निराश भएँ, तर हार खाइन ।’
हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलाशले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको रावलले बताए ।अध्यक्ष रावलले अदालत जानु पूर्व नेपाल सरकार, प्रधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा पर्यटनमन्त्री, राजनीतिक दल, पर्यटनसँग सरोकार राख्ने संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सबैलाई प्रमाणसहित भेट तथा निवेदन गर्दा कसैले नसुनेको आरोपसमेत लगाए ।
उनीहरूले विषय सकारात्मक भएको बताए पनि यो विषय नितान्त व्यक्तिगत तथा निजी भएको जस्तै: व्यवहार गरेको बताउँदै भने,‘विदेशी पर्यटकहरूलाई नेपाल भित्राएर देशको समृद्धि तथा आर्थिक पाटोलाई मजबुत बनाउने कुरामा किन कसैको चासो भएन ? अचम्म लाग्छ ।’अन्य क्षेत्रमा नेपाली नागरिक र विदेशी पर्यटकका लागि ऐन, नियमावली बनाएर फरक फरक शुल्कको कानुनी व्यवस्था गरिए पनि, हवाई यातायातमा भने सरकारले कुनै मूल्य निर्धारण गरेको छैन, सोही अवस्थाको फाइदा उठाउँदै व्यवसायीले मनपरी गरिरहेको बताउँदै भने,‘एउटै प्लेनमा यात्रा गर्ने विदेशी र स्वदेशीलाई गरिएको विभेदले विश्वमा नेपालप्रति नकारात्मक धारणा बनिरहेकोप्रति ध्यान किन नगएको ?’पछिल्लो समयमा २ हजारभन्दा बढी प्लेटफर्ममा नेपाल बारे विदेशीहरूले नकारात्मक प्रचार गरिरहेको र त्यसले पर्यटकहरू व्यापक घटिरहेको उनले जिकिर गरे ।




.gif)





