पोखरा । व्यावसायिक कृषि तथा पशुपक्षी फार्मबाट गण्डकी प्रदेशका तीन हजार नौ सय १४ जना उद्यमी स्वरोजगार बनेका छन् ।पछिल्लो सात वर्षमा स्थापना भएका तीन हजार तीन सय २० वटा कृषि तथा पशुपक्षी फार्मबाट स्वरोजगार बन्नेको किसानको सङ्ख्या बढेको हो । गण्डकी प्रदेश सरकारले व्यावसायिक रूपमा कृषि उद्यम गर्ने किसानलाई कूल लागतको ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार वार्षिक रू १५ करोडभन्दा बढी बजेट कृषि तथा पशुपक्षी फार्ममा लगानी हुँदै आएको छ । व्यावसायिक कृषिमा लागेका किसानलाई अनुदान र प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन हुँदै आएको मन्त्रालयका सचिव वासुदेवी रेग्मीले जानकारी दिए ।
किसान अनुदान र प्रोत्साहनमा बर्सेनि बजेटको ठूलो हिस्सा खर्च हुने गरेको उनको भनाइ छ । कृषि अनुदानको दुरूपयोग भएको जनगुनासो बढ्न थालेपछि मन्त्रालयले पछिल्लो समय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई जोड दिएको छ । वास्तविक व्यावसायिक किसान पहिचान गरी प्रोत्साहन रकम उपलब्ध गराइएको सचिव रेग्मीले बताए ।
मन्त्रालयले विपन्न बस्तीमा जीविकोपार्जनका लागि बाख्रापालन, भकारो सुधार, खोर सुधारलगायत कार्यक्रममा सहयोग गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि कृषिमा उद्यमशीलता प्रवद्र्धनको कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त परियोजनाअन्तर्गत प्रदेशमा हालसम्म पुराना र नयाँ गरी चार सय ५९ वटा ‘पकेट’ र तीन सय नौ वटा ‘ब्लक’ स्थापना भई कृषि पूवाधार विकास, क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र किसानको आम्दानीमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
तरकारी खेतीका लागि प्रोत्साहन, बाँझो जग्गामा खेती प्रवर्द्धन, बिज वृद्धि, रैथाने बाली संरक्षण, कृषि उद्यम विकासलगायतका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा छन् । किसानलाई उन्नत बिउबिजन, गुणस्तरीय बेर्ना तथा आधुनिक प्राविधिक सेवा उपलब्ध गराउन स्रोत केन्द्र विस्तार गरिएको छ । बिउबिजन प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला र भेटेरिनरी प्रयोगशालाको सुदृढीकरण गरिएको सचिव रेग्मीले जानकारी दिए ।
पशुपक्षीतर्फ बङ्गुर, बाख्रा, कुखुरापालनका लागि साना/ठूला गरी सात सय ९६ वटा आधुनिक खोर निर्माणमा सहयोग गरिएको उनले बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्न घाँस खेती र पशुको उपचारमा सहयोग गरिएकको मन्त्रालयले जनाएको छ । चालु आवदेखि जलवायुमैत्री कृषि प्रविधि प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तारका लागि पनि किसानलाई अनुदान दिँदै आएको छ ।
एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको छ ।मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउ खेतीमा आकर्षित भएका हुन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङसँगै बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको सचिव रेग्मीले जानकारी दिए । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उनले बताए ।मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो ।




.gif)





