images

२०८३ आश्विन २१ गते

images
images
images

बागलुङमा करिब ३० करोडको लगानीमा खुल्यो लक्जरी होटल ‘इला कम्फर्ट’

बागलुङमा करिब ३० करोडको लगानीमा खुल्यो लक्जरी होटल ‘इला कम्फर्ट’

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • बागलुङ । व्यावसायिक घराना आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा लक्जरी होटल ‘इला कम्फर्ट’ सञ्चालनमा आएको छ ।इला कम्फर्टमा कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटकका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित कार्यक्रममा उक्त होटल उद्घाटन गरे ।कार्यक्रममा मन्त्री पाण्डेले आईएमई ग्रुपले पर्यटन पूर्वाधार क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए ।मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवर्द्धन गर्न सरकार दृढ रहेको उल्लेख गरे ।

    त्यसैगरी गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आईएमई ग्रुपले मुलुकभरि पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे ।‘आईएमईका अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेश सहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ,’ उनले भने, ‘यदि त्यस्तो हो भने तपाईं आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका जनता थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईंलाई स्वागत गर्दछौं ।’

    images
    images

    कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले बागलुङमा सञ्चालनमा ल्याइएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावना समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केबुलकार सहित पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए ।

    ‘पर्यटन र जलविद्युत् क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्‍याउने भएका कारण हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौं,’ ढकालले भने ।होटल इला कम्फर्टले पर्यटक तथा अन्य पाहुनाका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने र यसबाट कालीगण्डकी करिडोर मार्फत भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटक संख्यामा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र कालीगण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि उनले बताए ।

    कार्यक्रममा संघीय सांसद दीपक गिरी र जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघ अध्यक्ष नरेश कँडेलले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको भन्दै थप लगानी गर्न आह्वान गरे ।करिब ३० करोड रुपैयाँ बराबर लगानीमा निर्माण गरिएको होटल इला कम्फर्टले बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।लगभग चार रोपनी क्षेत्रफलमा फैलिएको इला कम्फर्टमा २७ अतिथि कक्ष, दुई सुइट र एक विशेष पेन्ट हाउस सहित ३० आकर्षक ढंगले डिजाइन गरिएका कोठा छन् ।

    प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढंगले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको कम्पनीले जनाएको छ ।होटलका प्रमुख सचिन ढकालले होटल इला केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभई यसले बागलुङ बसाइलाई अविष्मरणीय अनुभवमा रूपान्तरण गर्ने बताए ।‘इला कम्फर्ट बागलुङमा हामी केवल कोठमात्र बेच्दैनौं, हामी हाम्रा पाहुनालाई उनीहरूको प्रस्थान पछि पनि लामो समयसम्म सम्झन लायक क्षण सिर्जना गर्ने छौं,’ उनले भने ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल डेढ घण्टा दुरीमा होटल अवस्थित छ । पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकाले होटल आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुका लागि सुविधाजनक पहुँचमा रहेको छ ।इला कम्फर्ट बागलुङले इला ब्रान्डको होटल विस्तार रणनीति अनुसार पहिलो चरणको प्रतिनिधित्व गरेको जनाएको छ । नवलपरासी गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको र सात प्रदेशमै सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend