images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • लाखौँ बजेटबाट निर्माणाधिन सोलार लिफ्ट आयोजना...

लाखौँ बजेटबाट निर्माणाधिन सोलार लिफ्ट आयोजना अलपत्र

लाखौँ बजेटबाट निर्माणाधिन सोलार लिफ्ट आयोजना अलपत्र

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • जुम्ला । लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धि विहीन भएका हुन् ।

    images
    images

    जिल्लाको तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा रु ५० लाख भन्दा बढी बजेट खर्च गरिएका छन् । तर, अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्रवटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् ।

    तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्र सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताउनुभयो । यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँचवर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्षमा १ र ६ नं वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका योजना शाखाका अधिकृत चन्दको भनाइ छ ।

    images
    images

    हिमा गाउँपालिकामा चारवटा सोलार प्रणाली मार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको गाउँपालिका सूचना अधिकारी रतन रावतले जानकारी दिए । सोलार प्रणालीबाट सञ्चालन गरिएका सिँचाइ आयोजना खासै सफल भएका छैनन् । गाउँपालिका–३, मोप्ला गाउँमा दुई सय ८५ घरपरिवारले सिँचाइ पुग्नेगरी २०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । 

    कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा रु ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।  सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिबेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो, अहिले प्रयोग विहीन भएको सूचना अधिकारी रावतको भनाइ छ ।

    तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना छन् । चारवटा आयोजना मध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्र सञ्चालनमा रहेको बताए  ।

    जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टर मध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।

    अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्र खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशक अघि देखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend