भैरहवा (रुपन्देही) । भारतीयहरु नेपाल छिर्दा २५ हजार रुपैयाँ मात्र लिएर आउने पाइने अफवाहका कारण भारतीय पर्यटक मात्र होन पर्यटन व्यवसायीहरुलाई पनि नराम्ररी छोएको छ ।
भैरहवा तथा यस आसपासमा राजनीतिक दलका नेताहरु मात्र होइन मन्त्रीहरु आउँदा पनि २५ हजार भारतीय रुपैयाँको प्रतिवन्ध हटाउन पर्यटन व्यवसायीहरुले आवाज उठाउँदै आएका छन् । यो मुद्दाले संसद पनि तताएको थियो । २५ हजार रुपैयाँको कानून संशोधनको माग गर्न संसदबाटै माग गरेका थिए ।नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको पर्यटन व्यवसायीहरुले बताउँदै आएका थिए । नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त सीमा उपयुक्त होइन।
अहिले पनि विभिन्न स्थानमा २५ हजार भारतीय रुपैयाँको सीमा हटाउनु पर्ने माग हुँदै आएको छ । तर नेपाल राष्ट्र बैंकले भने नेपालमा यस्तो बाध्यात्मक कानून नरहेको स्पष्ट पारेको छ ।नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकारी जीवन प्रकाश पाण्डेले नेपालमा २५ हजार भारतीय रुपैयाँ भन्दा बढी रकम ल्याउन नपाइने कतै उल्लेख नभएको बताए ।
पाण्डेले २०७५ साउन १ गतेदेखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २९(क) को उद्घोषण गर्नुपर्ने सम्बन्धी व्यवस्थाका सन्दर्भमा कसैले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यममार्फत नेपाली रुपैयाँ ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा वा सो बराबरको धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने गरी सीमा तोकिएको जानकारी दिए ।
भारतीयहरु नेपाल भ्रमणका लागि मात्र नभई सीमावर्ती नेपाली बजारमा ठूलो परिणाममा क्यासिनो खेल्न आउने गरेका छन् । भारतीयहरुलाई नै लक्षित गरि भैरहवामा पनि आधा दर्जन बढी क्यासिनोहरु सञ्चालनमा रहेका छन् ।क्यासिनो खेल्न आउने भारतीयहरुलाई प्रहरीले यहि २५ हजारको त्रास देखाउने गरेको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरुको आरोप छ । राष्ट्र बैंकको यो स्पष्टोक्तिले उनीहरुलाई पनि अब राहत मिलेको छ ।
भारत सरकारले नोटबन्दी गर्दा नेपाल सरकार र भारत सरकारको संयुक्त पहलमा भारतमा काम गर्ने नेपालीले २५ हजार रुपैयाँसम्म सटही गर्न सक्ने व्यवस्था गरेको थियो । तत्कालीन समयमा भारतमा काम गर्ने नेपाली कामदारहरुको सहजताको लागि भारतीय ५ सय र एक हजारका नोटहरु पनि सटही गरिएको थियो । पछि नेपाल राष्ट्र बैंकमा जम्मा भएका र भारत सरकारले बन्द गरेका पाँच सय र एक हजार दरका भारतीय नोट नेपाल राष्ट्र बैंकले सटही गर्न पठाउँदा भारतले सो नोटहरु साटेको थिएन । र यो व्यवस्थालाई सरकारले खारेज गरेको थियो ।
नोटबन्दीकै बेला तोकिएको २५ हजार भारुको अल्पकालीन व्यवस्था अहिलेसम्म लागु भइरहेको थियो ।लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले पर्यटकहरुलाई यस्ता साना तिना कुराहरुमा दु:ख नदिनु भनेर निर्देशन गरिएको बताए ।५ हजार डलर बराबरको भारतीय मुद्रा ल्याउने पाइए पनि नेपालमा भने १ सय रुपैयाँ भन्दा बढीको मुद्रा प्रतिबन्धित रहेको छ । भारतमा अहिले २ सय, ५ सय र २ हजारका नोट चलन चल्तीमा रहेको छ । नेपालमा भने एक सय रुपैयाँ दरका मात्र नोटहरु बोक्न पाइने कानूनी प्रावधान रहेको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यो व्यवस्थाले पनि भारतीय पर्यटकले सास्ती पाएको बताए ।अहिले भारतीय मुद्रा २५ हजारको सीमा नरहेको जानकारी भए पनि सानो दरका मुद्रा ल्याउँदा त्यसले असहजता ल्याउने र बोक्न पनि गाह्रो हुने गरेको बताए ।
अहिले भ्रमण र क्यासिनो खेल्न मात्र नभई डेस्टिनेशन वेडिङका लागि पनि नेपाली भारतीयहरुको प्रमुख रोजाइको केन्द्र बनेको छ । यस्तो अवस्थामा उनीहरुलाई पर्याप्त सुविधा दिई खर्च गर्न दिन सक्ने बाटो खोलिदिए यसले नेपालको पर्यटनको विकाससँगै अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउँछन् ।




.gif)





