सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एपिस (एडभान्स प्यासेन्जर इन्फरमेशन सिस्टम) प्रणाली लागू गर्न आन्तरिक तयारी शुरु गरेको छ।
यो प्रणाली लागू भएपछि नेपालको समग्र अध्यागमन प्रणाली व्यवस्थित हुनुको साथै नेपालले कालो सूचीमा राखेका व्यक्तिहरुको विमानस्थलबाट हुने आवतजावत नियन्त्रण गर्न सहज हुने विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त प्रणाली कसरी लागू गर्ने भन्ने बारेमा विभागले अहिले विशेष कार्यदल नै बनाएर अध्ययन गरिरहेको छ ।
विभागका निर्देशक अनुप न्यौपानेको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावको आधारमा जति सक्दो छिटो उक्त प्रणाली जडान गर्ने सोंचका साथ तयारी भइरहेको बताइएको छ ।
एपीस प्रणालीबाट विद्युतीय माध्यमबाट हवाई र पानीजहाजका यात्रुहरूको व्यक्तिगत विवरण आदान प्रदान गर्ने अत्याधुनिक प्रणाली हो । विश्वका प्रायः सबै विकसित देशहरुमा केही वर्ष पहिले नै यो प्रणाली जडान भइसकेको पाइन्छ । तर, नेपालमा भने विभागले अहिले बल्ल त्यसलाई जडान गर्ने तयारी गरेको छ ।
भूपरिवेष्टित देश भएको नेपालमा पानी जहाजबाट यात्रुहरू आउँदैनन् । त्यसैले अहिले पहिलो चरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यो प्रणाली लागू गर्ने र त्यसपछि गौतम बुद्धस्थल र पोखरा अन्तराष्ट्रिय विमान स्थलमा जडान गर्ने तयारी गरिएको छ ।
अहिले हवाई यात्रुहरूको विवरण सम्बन्धित विमान कम्पनीले कागजी माध्यममा अध्यागमन विभागलाई उपलब्ध गराउँदै आएका छन् । त्यसैलाई आधिकारिक मानेर अध्यागमन विभागले यात्रुको रेकर्ड राख्ने गर्छ । तर, त्यो विवरणमा यात्रुको नाम र राष्ट्रियता बाहेक अरु विषय उल्लेख हुँदैन । त्यहीकारण शंका लागेका व्यक्तिहरुलाई ती व्यक्तिहरू अध्यागमनमा आएपछि थप सोधखोज गर्ने गरिएको छ ।
यसबाट अध्यागमनको अवस्था झन्झटिलो हुनुको साथै कालो सूचीमा रहेका व्यक्तिहरुले पनि हुलिया बदलेर सहजै नेपाल प्रवेश गर्ने वा बाहिरिने गरेको विभागकै अधिकारीहरु बताउँछन् ।
एपिस सिस्टमले कुनै व्यक्ति नेपाल आउनको लागि कुनै देशको अध्यागमनको काम गरेर जहाज नचढ्दै त्यहाँको अध्यागमनले विद्युतीय माध्यमबाट यहाँको अध्यागमनलाई सबै विवरण पढाउँछ । एपीस प्रणालीमा यात्रुको नाम, लिङ्ग, राहदानी जारी भएको देश, जन्म मिति, राष्ट्रियता र यात्रा अनुमतिपत्रको नम्बर लगायतका विवरण राख्ने गरिन्छ । त्यसले गर्दा कुनै अभियुक्त हुलिया लुकाएर उताबाट जहाजमा चढेमा यहाँ उत्रनासाथ पक्राउ गर्न सहज हुन्छ । जहाज आउंदा सम्म यहाँ उस्लाई पक्राउ गर्ने तयारी गर्न समय हुन्छ ।
त्यस्तै अवस्था यताबाट जाने यात्रुहरुको हकमा पनि लागू हुन्छ ।
यो प्रणाली खासगरि आतंकवादी गतिविधि, लागू औषध कारोबार र सीमापार अपराध नियन्त्रणमा प्रभावकारी मानिएको छ ।




.gif)





