तनहुँः किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ भन्ने नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवस मनाइएको छ ।
नेपाल राष्ट्रिय व्यवसायिक बाख्रापालक महासङ्घ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका नगरकार्यापालिकाको कार्यालय, पशुपक्षी तथा मत्स्य विकास शाखा फुस्रेटार र बरभञ्ज्याङ बाख्रापालक समूहको आयोजनामा बोका प्रदर्शनी सहित दिवस मनाइएको हो ।
किसानले पालेका स्थानीय तथा उन्नत जातको बोका प्रदर्शनीमा उत्कृष्टलाई छनोट गरिएको छ । स्थानीय जाततर्फ भानु नगरपालिका–५ का चोबकान्त पोख्रेलको बोका ८६ दशमलव ३१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम भएको छ ।
भानु–६ डाँडाचोकका विमला अधिकारीको बोका ८२ दशमलव ७७ प्रतिशत अङ्क सहित द्वितीय, भानु–५ बारीफाँटका रोमन अधिकारीको बोका ८२ दशमलव ५८ प्रतिशत अङ्क प्राप्त गरी तृतीय र भानु–५ बारीफाँटका काजीराम अधिकारीको बोका ७६ दशमलव ६७ प्रतिशत सहित सान्त्वना भएको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारीले जानकारी दिए।
उन्नत जाततर्फ भानु–६ बडारेका मानसिंह गुरुङको बोका ८८ दशमलव ८९ प्रतिशत प्राप्त गरी प्रथम, भानु–६ का काजी थापाको बोका ८३ दशमलव ५० प्रतिशतसहित द्वितीय, भानु–१ सिमलटारीका राम बहादुर गुरुङको बोका ८० दशमलव ९३ प्रतिशत सहित तृतीय र भानु–४ गोगनपुरका तिलकुमारी अधिकारीको बोका ८० दशमलव ८९ प्रतिशत सहित सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्रदान गरिएको महासङ्घले जनाएको छ ।
जातीय गुण, उमेर, स्वभाव, कद, टाउको, घाँटी, छाती, कम्मर, खुट्टा र खुट्टाको संरचना, शारीरिक अवस्था, मांसपेशीको अवस्था, चालको अवस्था, स्वास्थ्य स्थिति, सरसफाइ, प्रजनन् क्षमता लगायत मापदण्ड निर्धारण गरी अङ्क प्रदान गरिएको महासङ्घका केन्द्रीय सदस्य अधिकारीले जानकारी दिए। बाख्राको उत्पादन परिकार तथा बाख्राको सुधारिएको मलको प्रदर्शनी गरिएको थियो ।
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द सुवेदीले किसानलाई व्यावसायिक बाख्रापालन तर्फ आकर्षित गर्न र प्रोत्साहनका साथै स्वस्थ र पोसिलो आहारको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय बाख्रा दिवसमा प्रतियोगिता आयोजना गरिएको बताए ।
“यस प्रदर्शनीपछि यहाँका निर्वाहमुखी बाख्रापालकलाई स्वस्थ र गुणस्तर आहार घरमा व्यवस्थापन गर्न सहयोग पुर्याउने अपेक्षा गरेका छौँ”, उनले भने । निर्वाहमुखी बाख्रापालनलाई सुधार गरी गुणात्मक तथा व्यावसायिकता तर्फ प्रेरित गर्न पनि यो प्रदर्शनले सहयोग पुग्ने उनको भनाइ छ ।




.gif)





