images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • किसानले अनुदान नपाएपछि तनहुँमा दूध बेच्न...

किसानले अनुदान नपाएपछि तनहुँमा दूध बेच्न किने मझौला खालको ट्रक

किसानले अनुदान नपाएपछि तनहुँमा दूध बेच्न किने मझौला खालको ट्रक

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । तनहुँको व्यास नगरपालिका–१०, दुम्सीका पशुपालक किसानले  अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् ।

    images
    images

    आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक ५५ हजार रुपैयाँभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए ।

    मझौला ट्रक खरिद गर्दा २३ लाख ४० हजार र ट्रकको छत बनाउन एक लाख ५० रुपैयाँ थप खर्च भएको उनको भनाइ छ । 'अनुदानमा ट्रक चाहियो भन्ने कुरा पनि भएन । दूध ढुवानी गर्न मासिक भाडा खर्च धेरै जाने भएपछि ट्रक नै किन्ने निधो गर्‍यौँ', उनले भने, 'अब ट्रक नै किनेपछि दूधमात्र नभई कृषि उपजसमेत बढाएर नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।'

    images
    images

    ट्रक किनेपछि आफूहरूले सात किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ्चालन र व्यास नगरपालिका–१० मा सुपथ मूल्य पसल सञ्चालन गरिएको अर्का किसान डिल्लीराम शर्माले बताए । आफूहरूले पनि कृषिबाली बढाउन विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उनको भनाइ छ । 

    'अब दूधमात्र नभई कृषिबाली उत्पादनमा पनि हात हाल्ने निधो गरेका छौँ', उनले भने, 'अब किसानकै ट्रक भएपछि हामीलाई ढुवानीमा समस्या हुने कुरा भएन ।' किसानले किनेको ट्रक १ माघदेखि चलाउने जिम्मेवारी आफूलाई प्राप्त भएको स्थानीय चालक बुद्धिमान दरैले बताए । ट्रक सञ्चालन गर्ने योजना बनाएपछि तत्काललाई विदेश जाने योजना पनि त्यागेको चालक उनको भनाइ छ ।

    'घरमै परिवारसँग बसेर ट्रक चलाउन पाएकामा खुसी छु', कृषक समूहमा आबद्ध रहेका चालक दरैले भने, 'अब गाउँमै कृषि क्रान्ति होलाजस्तो छ त्यसैले विदेश जाने योजना तत्काललाई त्यागेको छु ।' किसानले किनेको ट्रकको व्यवस्थापन भने दुम्सी दुग्ध उत्पादक सहकारीमार्फत गरिने स्थानीय किसान तथा उक्त सहकारी संस्थाका सहायक व्यवस्थापक कृष्ण रिजालले जानकारी दिए ।

    'सहकारीमार्फत नै ट्रक सञ्चालन गर्ने किसानको छलफलले टुङ्गो लगाएको छ', उनले भने, 'निश्चित मापदण्ड बनाएर ट्रक सञ्चालन गरिने तयारीमा छौँ ।' स्थानीय गाईभैँसीपालक पाँच सय ८४ किसानबाट दैनिक उत्पादित तीन हजार लिटर दूध दमौलीस्थित जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री हुँदै आएको छ । ट्रक खरिद गरेपछि तरकारी बालीसमेत प्रवर्द्धन गरी किसानलाई राहत प्रदान गर्ने योजना बनाइएको रिजालको भनाइ छ । दमौली पुग्न चार किलोमिटरको दूरी तय गर्नुपर्छ । किसानले ट्रक खरिद गरेको जानकारी पाएपछि मंगलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुम्सीमै पुगेर किसानका कामको प्रशंसा गरे । उनले दुम्सीका किसानको मिहिनेतबाट अन्य किसानले पनि प्रेरणा लिनुपर्ने बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend