images

२०८३ आश्विन २१ गते

images
images
images

युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष

युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्  नवलपुरको स्थानीय तहका जनप्रतिनिधिले। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका छन्।

    images
    images

    समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गरेका हुन्।'मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन,' उनले भने, 'युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ।'

    वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताए।वडाध्यक्ष महतोले ७२० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा ४५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आएका छन्।च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको उनले बताए।

    images
    images

    महतोले उत्पादन गरेको च्याउ घरबाटै बिक्री हुने गरेको छ। धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्‍याउने गरेको उनले बताए।'च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ,' उनले भने, 'यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ।'

    गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उनले बताए।च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उहाँले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताए।'किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ,' उनले भने, 'मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ।'उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उनले बताए।

    राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उनले बताए।'मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन्। त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु,' उनले भने, 'अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ।'दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उनले यस खेतीमा आफ्नो परिवारबाट  साथ मिलेको बताए।व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उनले त्यसबाट राम्रै नाफा हुने बताए।

    सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए।'जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ,' उनले भने, 'हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ। उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन्।'राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ।

     च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उनले भने, 'जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ।'सिजनअनुसार पातेच्याउ  १३० देखि दुई सयसम्म तथा डल्लेच्याउ ३५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उनको भनाइ छ। प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उनले जानकारी दिए।

    रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend