images

२०८३ आश्विन २० गते

images
images
images

सन् २०२४ मा पोखराका हवाई यात्रु १० लाख २३ हजार

सन् २०२४ मा पोखराका हवाई यात्रु १० लाख २३ हजार

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुगेको छ। अन्तर्राष्ट्रियस्तरको भएपनि विमानस्थलबाट अहिले नियमित रुपमा आन्तरिक उडान मात्र भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि प्रयास भइरहेपनि त्यसले सार्थकता पाउन सकेको छैन। अक्कल झुक्कल भएका अन्तर्राष्ट्रिय बाहेक विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित रहेको छ।  

    images
    images

    आन्तरिक उडानमा मात्र सीमित रहेको विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्। विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२४ मा १० लाख २३ हजार यात्रु ओहोरदोहोर गरेको जानकारी दिइन। सुवेदीका अनुसार सन् २०२३ मा पोखराबाट ९ लाख ५ हजार यात्रु ओहोरदोहोर गरेका थिए। ती सबै यात्रु आन्तरिक उडानका मात्र हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ देखि सञ्चालनमा आएको थियो।

    पोखरामा अहिले दुइवटा विमानस्थल सञ्चालनमा छन्। पोखराको पुरानो विमानस्थलबाट पनि उडान संचालन भइरहेको छ। तर पुरानो विमानस्थलबाट हुने उडान भने सीमित छ। पोखराको पुरानो विमानस्थलबाट जोमसोमको उडान मात्र संचालन हुन्छ। त्यस्तै हेलिकप्टर र अल्ट्रालाईट जहाज पनि पुरानै विमानस्थलबाट संचालन हुने गरेको छ। ‘अहिलेसम्मकै बढी यात्रु यो पोखरामा हवाई माध्यमबाट आउजाउ गरेका छन्। यो संख्या सर्वाधिक हो,’ उनले भनिन, ‘पोखराका हवाई यात्रु हरेक वर्ष थपिएका छन्।’

    images
    images

    उनका अनुसार सन् २०२४ मा यात्रा गरेका १० लाख २३ हजार यात्रुमध्ये १ लाख ७६ हजार भने विदेशी यात्रु छन्। २०२३ मा ९ लाख ५ हजार यात्रु ओहोरदोहोर गर्दा १ लाख २५ हजार विदेशी यात्रु थिए। सन् २०२४ मा पोखरामा सबैगरि १६ हजार ७ सय हवाई उडान भएका छन्। त्यो संख्या २०२३ मा १५ हजार ९ सय रहेको उनले बताइन। ती सबै उडान र यात्रुको संख्या पोखरासँगको दुईतर्फी उडानका हुन।  

    ‘पोखरा पर्यटकीय सहर भएकोले पनि यात्रु संख्या धेरै छ। आन्तरिक पर्यटकको पोखरामा बाक्लै आउजाउ हुन्छ। काठमाडौँपछि सबैभन्दा धेरै उडान र यात्रु पोखरासँग आउजाउ गर्छन्,’ उनले भनिन, ‘अन्तर्राष्ट्रिय उडान पनि नियमित रुपमा गराउन सक्ने हो भने पोखरासँगको यात्रुसंख्या अहिले भन्दा पनि निकै नै बढी हुनेछन्, तर, त्यसका लागि अहिलेको प्रयासले मात्र सम्भव हुँदैन।’

    पोखरामा आन्तरिक उडान पछिल्लो समय निकै नै बढेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल भएकोले प्राविधिक रुपमा विमानस्थल आवश्यक परेमा कुनैपनि बेला संचालन गर्न सकिने अवस्था छ। पर्याप्त पूर्वाधारयुक्त विमानस्थल भएकोले राती अबेरसम्म र बिहान सबेरै पनि उडान हुने गरेका छन्। गत असोजमा आएको बाढीपहिरोका कारण अप्ठेरो अवस्था सिर्जना भएर काठमाडौंका धेरै हवाई यात्रु एकै पटक बाहिरिन खोज्ने क्रममा हवाई चाप बढेको थियो। त्यो बेला विमानस्थल राती २ बजेसम्म पनि सञ्चालनमा आएको थियो। सामान्य अवस्थामा बेलुकी ८ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नियमित आन्तरिक उडान सकिन्छन्, तर, विपद्का बेला हवाई कम्पनीले राती २ बजेसम्म पनि उडान गरेका थिए।  

    ‘यात्रामा अप्ठेरो परेको बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राती २ बजेसम्म पनि उडान गर्न सकियो। पुरानो विमानस्थलबाट राती अबेरसम्म उडान सम्भव थिएन,’ सुवेदीले भनिन, ‘अन्तर्राष्ट्रिय उडान नभए पनि स्तरीय आन्तरिक उडानको लाभ अहिले पोखराले लिएको छ। अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान त सुरु भएको छैन। तर, आन्तरिक उडानमा भने पोखराले निकै नै फड्को मारेको छ। पोखरासँगको हवाई सञ्जाल निकै नै बिस्तार भएको छ। पोखरासँगको हवाई आकार पनि थपिएको छ।’  

    उनका अनुसार सिजनका बेला एकै दिन ४३ सय जति यात्रु ओहोरदोहोर गरेका छन्। पोखरासम्मको सडक सञ्जालमा समस्या भएकोले पनि यात्रुले हवाई उडान रोज्दा यात्रु थपिएको उनले बताइन। ‘पछिल्लो केही समय राजमार्गको यात्रा पनि सकसपूर्ण रह्यो। निर्माणाधीन राजमार्ग बेलैमा तयार नहुँदा यात्रा सकसपूर्ण बन्यो। त्यसपछि यात्रुले स्थल मार्गको साटो हवाई मार्ग रोज्दा यात्रु बढेका हुन्,’ उनले भनिन, ‘स्थल मार्ग सहज नहुँदाको लाभ हवाई कम्पनीलाई पनि भएको हो।’

    अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगन्जसम्म नियमित उडान भइरहेका छन्। पोखरामा अहिले यती र बुद्ध एयरले नियमित उडान गरिरहेका छन्। बुद्धले पोखराबाट काठमाडौं बाहेक नेपालगन्ज, भैरहवा र भरतपुर नियमित उडान गरिरहेको छ। यतीले भने पोखराबाट काठमाडौंका लागि नियमित उडान गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend