images

२०८३ आश्विन २५ गते

images
images
images

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • चितवन । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् ।

    images
    images

    नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।

    यसैगरी लेयर्स चल्ला साताको तीन लाखबाट एक लाखमा झरेको, कलर ब्रोइलर (गिरिराज) सातामा पाँच लाख उत्पादन हुने गरेकामा दुई लाखमा झरेको, दैनिक ६० लाख गोटा अण्टा उत्पादन २४ लाखमा सीमित भएको तथ्याङ्क प्रस्तुत गरे । चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उहाँको भनाइ छ । उनका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल तीन हजार पाँच सय टनमा झरेको छ ।

    images
    images

    मासु दैनिक १० लाख किलोबाट छ लाखमा झरेको भट्टले जानकारी दिए । उनले भने, “आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका छन् ।”नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताए । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उनले भने, “साना किसान धेरै विस्थापित भएका छन्, ठूलाले केही धानेका छन् ।” बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठूला फर्महरुले जोखिम मोल्दै उत्पादन गरिरहेको उनको भनाइ छ ।

    ठूला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उनले उल्लेख गरे । उनले भने, “अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।” दस हजारदेखि चार लाखसम्म कुखुरा पाल्नेलाई ठूला किसानको रुपमा लिने गरिएको छ ।ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न ७० खर्च हुने भए अहिले ३० मा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । यस्तै एक सय ४० मा तयार हुने लेयर्स चल्ला ७० हाराहारीमा बिक्री गर्नु पर्दा धेरै विस्थापित हुनुपरेको बताए । तीन सय ८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरु बन्द भएको उनले बताए ।

    यस्तै १५ वटा लेयर्स ह्याचरीमध्ये पाँच वटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिए । उनले भने, “जग्गा लिलाम हुने अवस्थामा छ, राज्यले हेरेन ।” सहुलियत कृषि ऋण हटेको भन्दै उनले चल्ला उत्पादन गर्ने माउ झिकाउनका लागि आर्थिक अभाव हुँदा ह्याचरीहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए ।चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएको उनले बताए । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी दुई सय ५० लागत मूल्य पर्ने भए अहिले किसानले एक सय ८० मा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उनको दाबी छ ।

    मञ्चका वरिष्ठ उपाध्यक्ष डा रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अण्डा र मासुको खपत कम भएको बताउँछन् । उनले भने, “एसियाली मुलुकमा एक जनाले वार्षिक एक सय आठ वटा अण्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अण्डा र आठ किलो मासु मात्रै खपत छ ।”पाँच वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अण्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उनले यसो हुन नसकेको बताए । उनले भने, “नेपालमा प्रोटिनको उपभोग निकै कम छ ।”

    मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य बढेको र उत्पादनले सोअनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय सङ्कटमा परेको बताए । उनले भने, “यही अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।”यसैबीच १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यसअवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अण्डा र मासुमा पाइने पौष्टिक तत्वबारेमा चिकित्सकहरुबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मनाइँदै आएको छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend