काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाका तत्कालीन शाखा प्रमुख बुद्ध कुमार कार्की लगायत कर्मचारी माथि कारबाही प्रकृया अघि बढाइएको छ।
एक छानबिनका क्रममा उक्त शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको पाइएपछि तत्कालीन शाखा प्रमुख कार्की लगायत कर्मचारी माथि कारबाही प्रकृया अघि बढाइएको हो ।
प्राप्त जानकारी अनुसार , बिद्युत प्राधिकरणको उक्त शाखाको तत्कालीन प्रमुख बुद्ध कुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारको सामान नभेटिए पछि एउटा छानबिन समिति बनाइएको थियो।
उक्त छानबिन समितिले विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका सात करोड रुपियाँ बराबरका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण हराएको निष्कर्ष निकाल्दै यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको छ ।
समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्र कुमार झाले बताए । छानविन समितिले तत्कालीन शाखा प्रमुख लगायत कर्मचारी माथि कारबाही प्रकृया अघि बढाएको महाशाखा प्रमुख झाले जानकारी दिएका छन् ।




.gif)





