images

२०८३ आश्विन २१ गते

images
images
images

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरूसँग क्रिकेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन्। उनको घर नजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ। त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरूले चौका र छक्का हानेको क्रिकेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ।

    images
    images

    चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छभने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ। तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो। गैरीगाउँको माझमा गाडिएको सो सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो। अहिले गाउँको आधा भाग भारततिर परेको छ।

    स्थानीय कुलप्रसाद तिवारिको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा पर्‍यो। नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ। सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उनीसँग नेपाली धनीपुर्जा थियो। उसबेला तिवारिले सरकारी मालपोत नेपालमै बुझाउँथे। तर गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उनको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो।

    images
    images

    तिवारिको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ। तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिकेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन्। 'खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरू आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरू आउनुहुन्छ,' काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, 'दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो। अङ्कलहरूले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ। हामीलाई त उहाँहरूसँग केही डर लाग्दैन।'

    गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चार माध्यममा चर्चा पाउने गरेको छ। तर गाउँमा भने विवाद र भयको कुनै छनक छैन। नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ। 'चार वर्षअघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,' गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्छन्, 'अहिले दशगजा खाली गराइएको छ। मेरो घरको आँगन नै दशगजामा परेको छ। मानिसहरूले दशगजामा खेतीपाती गर्न छाडेका छन्।'

    गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आएका उनले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताए। दशगजाको दुवैतर्फ ३०/३० फिट जग्गा खाली गराउने दुवै देशबीच सहमति भएको छ। सरकारी अधिकारीहरूले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उनको भनाइ छ। भारततिरबाट एसएसबीको गस्ती नियमित रूपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उनले जानकारी दिए। दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ। कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरूसँग नेपाली सुरक्षाकर्मीहरूको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन्।

    गैरीगाउँका ३१ वर्षीय टीका चौधरी हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घर खेत सबै भारततिर परेको बताउँछन्। भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिका पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन्। चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा ‘लोड अनलोड’ को मजदुरी गर्न आउने गर्छन्। भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत् र पानी प्रयोग गरिरहेको चौधरीले बताए।

    दश वर्षअघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताइन्। पाण्डेको घर दशगजामै जोडिएको छ। 'एसएसबीहरू दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्,' उनले भनिन्, 'बोतलमा पानी भरेर लगिदिन्छौँ। नराम्रो कहिल्यै गरेका छैनन्।' नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उनको घर छेउमै टहरा बनाएर रातदिन पहरा दिने गरेको छ।

    सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताइन्। उनका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन्। उनका पति भाडाको सवारि साधन चलाउने गर्छन्। 'बसाइँ सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,' उनले भनिन्, 'घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो। घडेरी त भारतमा पर्‍यो कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिए।'

    दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताइन्। 'हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,' उनले भनिन्, 'भारततिर घर भएकासँग ऐँचोपैँचो चलिरहेकै छ। आउजाउमा कुनै अप्ठेरो छैन। खेतीपाती दुवैतिरकाले जता गएर पनि गरिरहेकै छन्। कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ।' गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन्। नेपालतिर बसोबास गर्दै आएका ७७ वर्षीय टङ्कबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारी खेती गोडमेल गर्न जान्छन्। उनले नेपाली धनीपुर्जा भएको आफ्नो १२ ट्ठा नम्बरी जग्गामध्ये सात कट्ठा मात्र दशगजा वारि रहेको र पाँच कट्ठा भारतीय भूमिमा परेको बताइन्।

    भारतीय भूमिमा रहेको जग्गामा उनले अहिले टमाटर र सिमी रोपेका छन्। मेचीको बगरमा रहेको उनको वर्षौंदेखिको भोगचलनको आठ कट्ठा बगर खेत समेत भारततिरै परेको छ। उक्त बगर खेतमा धान खेती हुँदै आएको छ। 'जग्गाको धनीपुर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सिमाना बदलिएर मेरो जग्गा भारततिर पर्‍यो,' उनले भने, 'अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु। कसैले केही भनेको छैन। एकपटक एसएसबीहरू खेतमा आएर एउटा टमाटर खान पर्‍यो भनेका थिए। मैले एउटा मात्र किन दुई चारवटै खानुहोस् भनेको थिएँ।' सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरूको निराकरणका लागि सशस्त्र प्रहरी बलले स्थानीय वडाध्यक्षहरूको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ। स्थानीयवासीले आफ्ना गुनासा र समस्याहरू समितिमार्फत सशस्त्र प्रहरी बलमा पुर्‍याउने गरेको मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन्।

    झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरू छन्। बेलाबेलामा सशस्त्र प्रहरी बलको २ नं गण चन्द्रगढीले वडाध्यक्षहरूलाई सीमाका गुनासाहरूको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ। 'झापाको कचनकवल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौँ,' वडाध्यक्ष ओलीले भने, 'तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन। त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी बलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं।' रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend