images

२०८३ आश्विन २१ गते

images
images
images

रामेछापमा धमाधम जुनार बिक्री

रामेछापमा धमाधम जुनार बिक्री

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • रामेछाप-मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेंलपुर भएपछि बिक्री गर्न थालिएको छ। रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो।

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन्। जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ। मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताए। परियोजनाका अनुसार गत वर्ष जुनार बगैँचाबाट रु १९ करोडको मात्र जुनार बिक्री भएको थियो।

    १५ रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए। अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने रु तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए। ओख्रीनीकै दिलमाया तामाङ पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताउँछिन्। ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए।

    images
    images

    ओख्रेनीका मात्र होइन, सुकाजोरका रामकुमार कार्की, ज्ञानुका कार्कीको बगैँचामा जुनार पहेँलपुर भएको छ। पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ। सुकाजोरकी ज्ञानुका कार्कीले भनिन्, ‘हामी महिला यसअघि घरको (घाँस, दाउरा र भान्साको) मात्र काम गथ्र्यौँ त्यसबेला खासै केहीबाट आम्दानी हुँदैनथ्यो, तर अहिले व्यावसायिक जुनारको खेती गर्न थालेपछि मेहनतअनुसारको फल पाइएको छ।’

    जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन्। ओखेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायतका किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन्। रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो। रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए।

    मन्थली नगरपालिकाको वडा नं ४ सालु १३ र १४ फुलासीमा पनि गत वर्षको तुलनमा जुनार र सुन्तलाकोे उत्पादन बढेको वडा नं १४ कृषक तुलबहादुर तामाङले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछापले जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका कुल १३ वटा वडामा जुनार जोनका रूपमा काम गरिरहेकाले उत्पादनमा वृद्धि भएको परियोजनाका प्रमुख थिरलाल गैरेले दावी गरे। परियोजनाले विभिन्न किसिमका अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यन्त्रीकरण जस्ता सामग्री समेत जुनार किसानलाई बितरण गर्ने गरेको छ।

    रामेछापको मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष कुल पाँच सय २० हेक्टरलमा सुन्तला जातका फलफूलहरू उत्पादन भएका मध्ये जुनार ४२२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा खेती गरिँदा कुल चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भई रु १९ करोड, रु ९३ लाख ९५ हजार रकम बराबरको बिक्री भएको परियोजनाकी नायब प्राविधिक सहायक भवानी बस्नेतले बताए।

    उनका अनुसार, यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला, २२ हेक्टरमा कागतीखेती भई चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ७५ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ। हाल पहेंलपुर रहेको जुनार बगैँचाबाटनै दानाको आकारअनुसार ६० देखि ७५ रुपैयाँसम्म प्रतिकेजी बिक्री गर्ने गरेका छन्। पाकेर पहेँलपुर भएको जुनार बगैँचा हेर्न र सेल्फी खिच्न हिजोआज दैनिक रूपमा नागरिकको घुइँचो लाग्ने गरेको ओख्रेनीका जुनार व्यापारी हिमाल तामाङले बताए।     -रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend