images

२०८३ आश्विन १६ गते

images
images
images

सामुदायिक वनको आम्दानी सामाजिक काममा

सामुदायिक वनको आम्दानी सामाजिक काममा

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले सामाजिक विकासमा हातेमालो गर्दै आएको छ । काठ दाउरा बिक्री गरेर भएको आम्दानीबाट समुदायको विकासका लागि विभिन्न पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै स्थानीय उपभोक्तालाई जीविकोपार्जन र स्वरोजगार बनाउन अग्रसर रहेको छ ।गाउँमा ग्रामीण विद्युतीकरण, खानेपानी योजना, सिँचाइका लागि मोटर तथा पाइप, सामुदायिक विद्यालयमा फर्निचरलगायत कार्यमा सामुदायिक वनले सहयोग गर्दै आएको समूहका अध्यक्ष भगानु थारूले जानकारी दिए ।

    images
    images

    ‘हामीले समूहका सदस्य तथा उनका परिवारहरूलाई आवश्यक सहयोग गर्नुका साथै समुदायमा हुने हरेक पूर्वाधार विकासमा लगानी गर्दै आएका छौँ, समुदाय विकासका काममा हाम्रो साझेदारी रहँदै आएको छ’, उनले भने, ‘उपभोक्ताका आयआर्जनमा टेवा पुर्याउनुका साथै आपत् परेका बेलामा सहयोग, बालबालिकालाई शिक्षामा सहयोग तथा स्वरोजगार बन्न मद्दत गर्दै आएका छौँ ।’ उनका अनुसार, अशोक सामुदायिक वन उपभोक्ता समूहले कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ट्याङ्की निर्माण गरिदिएको छ । त्यहाँबाट हरेका उपभोक्ताका घरसम्म पुग्ने पाइप लाइन बिछ्याउने, पानीको मिटर जडान गर्नेलगायत कार्यमा ५० प्रतिशत अनुदान लागत व्यहोरेको छ ।

    समूहले गाउँमा विद्युतीकरण गर्दा २० प्रतिशत लगानी गरेको छ । त्यसैगरी सिँचाइका लागि मोटर तथा पाइप खरिदमा पनि कुल लागतको ५० प्रतिशत अनुदान रकम उपभोक्तालाई प्रदान गर्दै आएको छ । गाउँको तीन किलोमिटर सडकमा सडकबत्ती हाल्ने कामसमेत समूहले आफै गरेको छ ।‘हामीले सामाजिककार्यअन्तर्गत थुप्रै काममा सहयोग गर्ने गरेका छौँ, ग्रामीण सडक बिग्रे, भत्केमा मर्मतसम्भार गर्नेदेखि लिएर उपभोक्ता तथा परिवारका सदस्य बिरामी हुँदा उपचारका लागि सहयोग गर्ने गरेका छौँ’, समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालले भने, ‘समूहका कोही सदस्य बिरामी भएर उपचार गराउनका लागि रुपैयाँ नहुँदा तीन महिनाका लागि रु २५ हजार सापटीका रूपमा प्रदान गर्ने गरेका छौँ ।’

    images
    images

    उनका अनुसार, समूहले स्थानीय दुई जना स्वयंसेविकालाई वार्षिक रु छ हजारका दरले प्रोत्साहन रकम दिने गरेको छ। गर्भवती आमाहरूलाई शिशु स्याहार कार्यक्रमअन्तर्गत पोषिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा प्रदान गर्ने गरेको छ । त्यसैगरी उपभोक्तालाई जीविकोपार्जन तथा स्वरोजगार बनाउन विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ ।‘हामीले उपचारका लागि प्रतिसदस्य रु २५ हजार सापटी दिन्छौँ, तीन महिनाभित्र उहाँले यो रकम फिर्ता गर्नुपर्छ तर ब्याज तिर्नुपर्दैन, यसले गर्दा पैसाका कारण कोही सदस्यले ज्यान गुमाउनु पर्दैन, हालसम्म यो सुविधा करिब ५० जनाले लिइसक्नु भएको छ’, उनले भने ।

    अशोक सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई आर्थिक रूपमा सवल र स्वरोजगार बनाउन पनि आर्थिक सहयोग गर्दै आएको समूहका सहसचिव अरुण गौतमले जानकारी दिए । ‘उपभोक्ताले गर्न चाहेको कुनै पनि सानोतिनो व्यापार, व्यवसायका लागि रु एक लाख सापटी रकम दिने गरेका छौँ, यो रकम दुई वर्षभित्र बिना ब्याज फिर्ता गर्नुपर्छ, यो रकमले गाउँका कतिपय उपभोक्ताले पेशा व्यवसाय गरेर आफ्नो जीवनयापन गरिरहनुभएको छभने कतिपय स्वरोजगारसमेत बन्नुभएको छ’, समूहका सहसचिव गौतमले भने, ‘हालसम्म यो सुविधा २० जना उपभोक्ताले लिइसक्नु भएको छ ।’

    उनका अनुसार १० कक्षामा अध्ययन गर्ने उपभोक्ताका बालबालिकालाई वार्षिक रु तीन हजारका दरले प्रतिव्यक्ति शैक्षिक सहयोग गर्ने गरिएको छ । त्यसैगरी, स्थानीय लक्ष्मी माविलाई आवश्यक ३० सेट बेञ्च तथा डेस्क प्रदान गर्नुका साथै स्मार्ट बोर्ड पनि समूहले सहयोग गरेको छ । साथै विद्यालयको भवन निर्माण गर्दा समूहका तर्फबाट सहयोग गरिएको छ । वनमा झाडी सफाइ र काठ दाउरा कटान मुछान तथा घाटगद्दी गर्दा स्थानीय उपभोक्ताले नै रोजगारी पाउने गरेका छन् । एक सिजनमा एउटा उपभोक्ताले कम्तीमा पनि रु ६० हजार आम्दानी गर्ने गरेका छन् । झाडी सफाइमा समूहको वार्षिक रु सात लाख खर्च हुने गरेको छ । उक्त रकम उपभोक्ताकै हातमा पर्ने गरेको सहसचिव गौतमले बताए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend