नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिना पछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्व लगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।
“पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ”, उनले भने, “अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।” यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनु पर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले बताए ।
त्यसैगरी २३२ कल्भर्ट मध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए।
“अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।”यस खण्ड (गैँडाकोट–दाउन्ने)मा पर्ने ६५ किलोमिटर सडक मध्ये ३५ किलोमिटर सडककालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताए ।
हाल सम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इञ्जिनीयर खनालको भनाइ छ । मध्यविन्दु नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनले बताए ।
सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनको भनाइ छ । नारायणगढ देखि बुटवल सम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्ने गरी विसं २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडका बीच सम्झौता भएको थियो ।
नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तत्कालीन प्रधानमन्त्री केशी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गर्नुभएको थियो । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । रासस




.gif)





