images

२०८३ आश्विन २० गते

images
images
images

माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो

माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं ।फिक्कल– माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुइँचो लागेको हो ।

    images
    images

    किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा  किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् ।

    सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास(होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताए।

    images
    images

    ‘यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् ।ती सबै धार्मिक पर्यटकले भरिभराउ छ’, उनले भने, ‘यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।’ धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताए। अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताए।

     ‘यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ’, उनले भने, ‘होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।’त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्‍याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए। ‘यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ’, अध्यक्ष राईले भने।

    जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अस्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् ।

    धर्मगुरुको जन्मोत्सव समारोहका अवसरमा विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछ । मङ्गलबार रक्षामन्त्री मानवीर राईले उद्घाटन गरेको जन्मोत्सव समारोह बिहीबारसम्म सञ्चालन हुने मुख्य आयोजक किराँत अङ्सी माङ्गेन्नन सेवा समिति अध्यक्ष केहरसिंह योङहाङले बताए।बुधबार धर्मगुरु आत्मानन्द लिङ्देनबाट धार्मिक प्रवचनसँगै आर्शीवाचन, उपहार वितरण, धन्यवादपत्र वितरण, पुस्तकपुस्तिका विमोचनलगायत कार्यक्रम तय गरिएको अध्यक्ष योङहाङले बताए। त्यस्तै बिहीबार माङगेन्ना चामल वितरणसँगै बिदाइ कार्यक्रम रहेको उनले बताए।

     माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा विसं २०११ मङ्सिर १८ गते जन्मिएका आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणको अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किराँत धर्मावलम्बीले मान्ने गरेका छन् ।किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend