चितवनः चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ।
गत वर्ष साउन देखि कात्तिक सम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार ६ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन्।
निकुञ्ज र आसपासका सामुदायिक वनमा चालु आवको चार महिनामा ५६ हजार छ सय ७५ जनाले अवलोकन गरेका बताउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गत कात्तिकमा मात्रै २८ हजार दुई सय ११ पर्यटकले भ्रमण गरेका जानकारी दिए। उनका अनुसार साउन देखि असोज सम्म २८ हजार चार सय ६४ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन्।
गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा २० हजार ६ सय ८४ जना पर्यटक कम भएका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए। पछिसम्म झरि परि रहेकाले सडक अवरोध भएर पर्यटकको सङ्ख्यामा कमी आएको उनको भनाइ छ।
गत आवको असोज सम्म २८ हजार चार सय ६४ र कात्तिकमा ४८ हजार आठ सय ९५ पर्यटकले निकुञ्जको भ्रमण गरेका मगरले जानकारी दिए। साउन देखि असोज सम्म निकुञ्ज भित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको सङ्ख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको उनले बताए।
गतवर्ष विभिन्न नाकाबाट गरी तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ। यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारी लगायत नाकाबाट प्रवेश गर्ने गरेका छन्।
सबै भन्दा बढी सौराहाबाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन्। सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशी सँगै सार्क मूलुक र तेस्रो मुलकबाट पर्यटक जंगल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन्। रासस




.gif)





