images

२०८३ कार्तिक १० गते

images
images
images

केरा खेतीबाट वार्षिक ११ लाख आम्दानी

केरा खेतीबाट वार्षिक ११ लाख आम्दानी

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। परम्परागत धान र मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेका उनले यसैबाट राम्रो आम्दानी र सन्तुष्टि प्राप्त गरेका छन्।

    images
    images

    सुरुमा एक रोपनी क्षेत्रफलमा १०० वटा केराका बिरुवा लगाएर खेती सुरु गरेका पङ्गेनीले अहिले ६१ रोपनी क्षेत्रफलमा केरा खेती विस्तार गरेका छन्। कालीगण्डकी नदीको किनारमा रहेको खेतमा उनले स्थानीय मालभोग जातका करिब ६ हजार १०० केराका बिरुवा लगाएका छन्।

    सुरुमा मालभोग र जि नाइन दुवै जातका केरा लगाएका उनले पछिल्लो समय जि नाइन हटाएर स्थानीय मालभोग जातको केरा खेतीलाई प्राथमिकता दिएका छन्। अन्य व्यवसायमा समेत हात हालेका पङ्गेनीले केरा खेतीबाट सबैभन्दा बढी खुसी र सन्तुष्टि मिलेको बताए।

    images
    images

    उनका अनुसार अन्य खेतीको तुलनामा केरा खेती गर्न सहज हुनु र उत्पादित केराको बजारमा राम्रो माग रहनुले यस व्यवसायलाई विस्तार गर्न प्रेरित गरेको हो। उनको आफ्नै १३ रोपनी जग्गा छ भने बाँकी जग्गा भाडा तथा बन्धकीमा लिएर खेती गरिरहेका छन्।

    पङ्गेनीले उत्पादन गरेको स्थानीय मालभोग केरा आकारमा ठूलो, आकर्षक र विषादी प्रयोग नगरी पकाएर बिक्री गरिने भएकाले स्थानीय बजारमा राम्रो माग रहेको छ। विशेषगरी चापाकोट बजारमा उनका केरा बिक्री हुने गरेका छन्।

    उनका अनुसार ठूला कोसा भएको केरा प्रतिदर्जन २०० रुपैयाँ र साना कोसा भएको केरा प्रतिदर्जन १५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ।

    हाल खेतीमा रहेका केराका बोटमध्ये करिब दुई हजार २०० बोटले उत्पादन दिइरहेका छन्। ती बोटबाट उत्पादित केरा बिक्री गरेर वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको पङ्गेनीले बताए। सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनको लक्ष्य छ।

    परिवारका सदस्यले रेखदेख गर्दै आएको केरा खेतीमा गोडमेललगायतका कामका लागि आवश्यकताअनुसार स्थानीयले समेत रोजगारी पाउने गरेका छन्। व्यावसायिक केरा खेतीमार्फत आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न पनि आफू सफल भएको पङ्गेनीको अनुभव छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend