काठमाडौँ, ८ कात्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन ।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पुर्याएको पनि बताएका छन् । उनले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताएका छन् । उनले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गरेका छन् ।




.gif)





