काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३।८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। गत वर्ष २०८२ को असोजमा विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्षको असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ।
त्यस्तै, चालु आवको भदौमा विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसको तुलनामा असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढी आम्दानी भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको हो। असोजमा निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ। बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे(अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। उक्त घटनाका कारण हरियाणातर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको हो।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ।
नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात गरिँदै आएको छ।
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।




.gif)





