तुलसीपुर (दाङ), ७ कात्तिक । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताएका छन् । “अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ”, उनले भने, “आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ।”
अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिएका छन् ।
त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ । अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन् । बाँकी बिग्रिएका छन् । यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताएका छन् । यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताएका छन्।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिएका छन् । हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैयाको छ ।




.gif)





