चितवन । नारायणगढ बजारलाई बाढी र कटानबाट जोगाउन नारायणी नदीको तटीय क्षेत्रमा तटबन्ध निर्माणसँगै सौन्दर्यकरण गरिने भएको छ। यसअघि निर्माण गरिएका अधिकांश संरचना बाढीले बगाएपछि नदी किनारको संरक्षण र व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्न लागिएको हो।
नारायणी नदीको तटीय क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमा गर्न कार्यदल गठन गरेको छ। सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते गठन भएको कार्यदलले स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल अघि बढाएको छ।
रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा.मनोहर प्रधानका अनुसार नारायणगढ बजारलाई बाढीबाट जोगाउन र नदी तटीय क्षेत्रलाई सौन्दर्यकरणसहित मनोरञ्जनस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाउन लागिएको हो। कार्यदलले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन तथा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रतिनिधिसँग छलफल गरिसकेको छ।
कार्यदलका संयोजक श्रेष्ठले प्रारम्भिक अध्ययनमा नदी किनारलाई सुरक्षित बनाउन तटबन्ध निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिएको बताए। उनका अनुसार तटबन्ध निर्माणपछि मात्रै सौन्दर्यकरणका काम अघि बढाउन उपयुक्त हुनेछ।
नारायणी नदीको चितवन र नवलपरासीतर्फ तटबन्ध निर्माण गर्न बाँकी रहेका क्षेत्रमा एकीकृत रूपमा काम गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्। अध्ययन सकेर आवश्यक काम अघि बढाउने तयारी गरिएको छ।
६० किलोमिटर तटबन्ध आवश्यक, लागत २२ अर्बभन्दा बढी
नारायणी नदीको बाढी र कटानबाट चितवन तथा नवलपरासीका बस्ती जोगाउन करिब ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि २२ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ।
असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार वर्तमान बजार मूल्यका आधारमा तटबन्ध निर्माणको लागत २२ अर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब ६ अर्ब रुपैयाँ आवश्यक रहेको आयोजना प्रमुख डा। नारायणप्रसाद सुवेदीले बताएका छन्।
समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्षसमेत नदी कटानको जोखिम कायम रहने आयोजनाले जनाएको छ। त्यसैले नदी किनारको सौन्दर्यकरण भन्दा पहिले जोखिमयुक्त क्षेत्रको संरक्षण र तटबन्ध निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाइने
नारायणी नदीको कटान नियन्त्रण तथा तटबन्धको दीर्घकालीन संरक्षणका लागि नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं.३ की सांसद सोविता गौतमको पहलमा सरोकारवालाबीच यस विषयमा छलफल भएको हो।
छलफलमा नदी नियन्त्रणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने र निर्माणका लागि आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि वार्षिक बजेटमा मात्र निर्भर नभई बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्ने बताए। दीर्घकालीन योजना कार्यान्वयन गर्न सके नदी कटानबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
आयोजना प्रमुख डा.नारायणप्रसाद सुवेदीले तटबन्ध निर्माणमा कंक्रिटभन्दा ठूला ढुंगा (बोल्डर) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार बजेट विनियोजन भए पनि आवश्यक ठूला ढुंगाको उपलब्धता र स्रोत सुनिश्चित गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ।
नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण र तटीय क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माण, बजेट व्यवस्थापन तथा आवश्यक निर्माण सामग्रीको सुनिश्चिततालाई एकसाथ अघि बढाउनुपर्ने देखिएको छ।




.gif)





