गोरखा । बूढीगण्डकीमा आएको बाढीले अवरुद्ध उत्तरी गोरखाको आवागमन सहज बनाउन धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ नेतृत्वको टोली निरन्तर खटिएको छ। बाढीले खोर्लावेशी–तातोपानी सडक खण्ड बगाएपछि अवरुद्ध बनेको पैदलमार्ग स्थानीय स्रोतसाधनको प्रयोग गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो।
गाउँपालिका अध्यक्ष गुरुङ नेतृत्वको टोली विगत तीन दिनदेखि खोर्लावेशी–तातोपानी खण्डमा वैकल्पिक बाटो निर्माणमा जुटेको छ। आइतबार आएको बाढीले खोर्लावेशीमा पैदल हिँड्नसमेत नमिल्ने गरी सडक बगाएपछि उक्त क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको थियो। बाढीसँगै आएको लेदोले विभिन्न स्थानमा सडक पुरिँदा स्थानीय तथा यात्रुले सास्ती भोग्नुपरेको थियो।
अध्यक्ष गुरुङका अनुसार खोर्लावेशीदेखि तातोपानीसम्म लेदोले पुरिएको सडकमा ढुंगा र काठ बिछ्याएर आवागमनको व्यवस्था मिलाइएको छ। सडक नै बगाएको खोर्लावेशी क्षेत्रमा भने माथिल्लो भागबाट वैकल्पिक मार्ग निर्माण गरिएको छ। खोर्लावेशीदेखि लुस्याङसम्म करिब पाँच सय मिटर वैकल्पिक बाटो बनाइएको उनले जानकारी दिए।
भीरमा रहेका झाडी पन्छाउँदै कोदालो र साबेलको प्रयोग गरी पैदल हिँड्न मिल्ने बाटो निर्माण गरिएको छ। जोखिमपूर्ण स्थानमा सहाराका लागि डोरी राखिएको छ भने पहरा भएका ठाउँमा काठका भर्याङसमेत बनाइएको छ। यससँगै खोर्लावेशी–तातोपानी खण्डमा अलपत्र परेका पैदलयात्रीले वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गर्न थालेका छन्।
अध्यक्ष गुरुङका अनुसार शनिबार उक्त बाटोबाट करिब एक सय जनालाई आवतजावत गराइएको थियो भने आइतबार करिब दुई सय जनाले बाटो प्रयोग गरिसकेका छन्। काशिगाउँ र केरौजा जाने बाटोसमेत सञ्चालनमा ल्याइएको उनले बताए। केरौजावेशी जान काशिगाउँ जाने पुल तरेर बूढीगण्डकी नदीको पारिपट्टि हुँदै आवतजावत गर्न मिल्ने बाटो बनाइएको छ।
खोर्लावेशी क्षेत्रमा नदीको बहाव फर्काएर आवागमन सहज बनाउन दुईवटा मेसिनसमेत परिचालन गरिएको गुरुङले जानकारी दिए। तर, निर्माण गरिएको वैकल्पिक बाटो दीर्घकालीन समाधान नभएको भन्दै उनले क्षतिग्रस्त सडकको स्थायी मर्मतमा सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्। सडक बगाएको स्थानमा ब्लास्टिङ गरी नयाँ ट्र्याक खोल्नुपर्ने भएकाले त्यसका लागि आवश्यक स्रोतसाधन गाउँपालिकासँग नभएको उनको भनाइ छ।
यसैबीच, गोरखा सडक योजनाका अनुसार बाढीले बेनीघाट–आरुघाट–लार्के सडकका विभिन्न खण्डमा क्षति पुर्याएको छ। खोर्लावेशीदेखि तातोपानीसम्मको सडक पैदल हिँड्नसमेत नमिल्ने गरी बगेको गोरखा सडक योजनाका कार्यालय प्रमुख विनोद पुनले बताए। उनका अनुसार खोर्लावेशीका दुई स्थानमा करिब डेढ–डेढ सय मिटर सडक कटान भएको छ।
उक्त खण्डमा ब्लास्टिङ गरी नयाँ ट्र्याक खोल्नुको विकल्प नरहेको पुनले बताए। सडक विभाग, गोरखा सडक योजना र नेपाली सेनाको प्राविधिक टोलीले बुधबार आरुघाटदेखि पाङसिङसम्मको सडक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तातोपानी, यारुवगर र जगतलगायतका स्थानमा लेदोले सडक पुरिएको तथा कालिभिरमा पहिरोका कारण सडक बगाएको पाइएको टोलीले जनाएको छ।
टोलीका अनुसार बाढी र पहिरोका कारण कुल १।२ किलोमिटर सडकमा क्षति पुगेको छ। खोर्लावेशीमा नयाँ ट्र्याक खोलेर अन्य स्थानमा सडकमा थुप्रिएको लेदो हटाएपछि आवागमन पुनः सञ्चालन गर्न सकिने कार्यालय प्रमुख पुनले बताए।




.gif)





