images

२०८३ कार्तिक २ गते

images
images
images

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • त्रिशूली (नुवाकोट), १ कात्तिक । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार गर्न स्थानीयवासीले तुइन तथा जिपलाइनको सहारा लिँदै आउनु परेको थियो । विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजारसहित नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतका साथै राहत सामग्री ओसारपसार र पुनःस्थापनाका काममा पनि सहज भएको छ ।

    नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो । पुलका दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने बाँकी छन् ।

    images
    images

    “भोटेकोशी बाढीले त्रिशूली नदी र आसपासका खोला तथा नदीमाथिका संरचनामा क्षति पु¥याएपछि वारपारका लागि निर्माण गरिएको यो पुल पहिलो हो,” अध्यक्ष प्याकुरेलले भने, “पुलको बाँकी काम क्रमशः सम्पन्न गर्दै जानेछौँ । चाडपर्वको समयमा र बाढी प्रभावित क्षेत्रका बासिन्दाले तुइनबाट आवतजावत गर्दा भोग्नुपरेको कष्टलाई कम गर्न पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याएका हौँ ।”

    पुलको केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपारका क्रममा पुल हल्लिने समस्या रहेको छ । यद्यपि, प्राविधिकको भनाइ उल्लेख गर्दै निर्माण पक्षले पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ ।

    विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदी वारपार गर्न प्रयोग गर्न मिल्ने पक्की संरचना क्षतिग्रस्त भएकाले स्थानीयवासीले जोखिमपूर्ण माध्यमबाट यात्रा गर्नुपरेको बताएका छन् । तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा यात्रु वारपार गराउन सकिने अवस्थामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहजता आएको उनको भनाइ छ ।

    पुल निर्माणका लागि रु तीन करोड १८ लाख लागत अनुमान गरिएको थियो । हालसम्म रु एक करोड ६८ लाख खर्च भएको र थप रु १० लाख बराबरको काम गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ । पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले रु एक करोड ५० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिएका छन् । उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको र अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने उल्लेख छ ।

    पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१ को ढुङ्गेबाट बाढीले प्रत्यक्ष रुपमा प्रभावित बनाएको त्रिशूली बजार हुँदै विदुर नगरपालिका–७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ । यस्तै, विदुर नगरपालिकाको अन्य वस्तीहरुसहित जिल्लाको किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुगेको छ ।

    त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विद्यालयमा आवतजावत गर्न पनि पुलले सहजता थपेको छ । पुलका दुवैतर्फ सडक सञ्जाल जोडिएकाले यात्रुले नदी वारपार गरेपछि सवारीसाधनमार्फत आफ्नो गन्तव्यसम्म पुग्न सक्ने भएका छन् ।

    पुलको अभावमा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउने, पुरिएका संरचनाको खोजतलास गर्ने तथा नदीपारि खाद्यान्न लगायतका अत्यावश्यक सामग्री पु¥याउने काममा पनि कठिनाइ हुँदै आएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend