images

२०८३ कार्तिक १ गते

images
images
images

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • कास्की, ३१ असोज । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । 

    images
    images

    मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो ।

    मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

    images
    images

    “पुल अब म्यादभित्रै सम्पन्न हुन्छ । काममा कुनै अवरोध छैन । घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसकेको छ”, आयोजना प्रमुख कुँवरले भने ।

    निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर ९पाइलन० निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ ।

    एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम।एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो । हाल पुल निर्माणको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ ।

    आयोजना प्रमुख कुँवरले चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारबाट इन्जिनियरिङ बाहेकका काम गराउन कठिन हुने अवस्थाले निर्माणमा ढिलाइ भएको बताए । निर्माण सामग्री चीनबाट ल्याउन भएको ढिलाइ र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्ने लगायत समस्याले पनि काम प्रभावित भएको थियो ।

    त्यसैगरी, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जा सम्बन्धी समस्याले पनि निर्माणमा अवरोध सिर्जना गरेको थियो । एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो ।

    “जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मानेमा थिएनन । लामो प्रयासपछि उनीहरू सहमतिमा आए । अब पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या छैन”, कुँवरले भने ।

    हालको पुल २०३२ मा निर्माण गरिएको हो । यो  पुल साँघुरो भएपछि  त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend