images

२०८३ कार्तिक २ गते

images
images
images
  • पूर्वाधार
  • फापरखेतमा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक...

फापरखेतमा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन

फापरखेतमा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन

images
images
आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • म्याग्दी । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालनमा ल्याइएको छ। म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मुख्य सडक अवरुद्ध भएपछि मङ्गला गाउँपालिकाले वैकल्पिक मार्ग मर्मत गरी सञ्चालनमा ल्याएको हो।

    images
    images

    बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबार अपराह्नदेखि पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको थियो। पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक खुलाउन नसकिएपछि पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको हो।

    मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीका अनुसार वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर सडक मर्मत गरी आइतबार दिउँसोदेखि यातायात सञ्चालन गरिएको छ। उक्त मार्गमा मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

    images
    images

    दसैँका समयमा आफ्नो जन्मथलो जाने नागरिकलाई सहजता प्रदान गर्न गाउँपालिकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएको गिरीले जानकारी दिए। फापरखेतमा निरन्तर पहिरो खसिरहेकाले तत्काल मर्मत सम्भव नभएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको उनको भनाइ छ।

    बेनी–दरबाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख सडक हो। यसलाई पश्चिम म्याग्दीको यातायात तथा आवागमनको ‘लाइफलाइन’ मानिन्छ।

    यसैबीच, फापरखेतमा पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताएका छन्। गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी गैरेले पहिरो प्रभावित क्षेत्र तथा वैकल्पिक सडकको स्थलगत निरीक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए।

    विसं २०५८ मा सञ्चालनमा आएको बेनी–दरबाङ सडकमा सुरुदेखि नै पहिरोको समस्या रहँदै आएको छ। यसपटक भने पहिलेभन्दा फरक स्थानमा पहिरो खसेपछि वैकल्पिक मार्ग खोल्नुपरेको वडा सदस्य गिरीले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend