राँझा .बाँकें, २६ असोज । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताएका छन्। उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपालगन्ज उपमहानगर पालिकाले आवश्यक सहयोग गर्दै आएको बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गएका छन् । भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा आएको राम, सीता, लक्ष्मण, हनुमान र रावणसहित २५ सदस्यीय कलाकार टोलीले रामलीला मञ्चन सुरु गरेका छन् ।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरत मिलाप र रामको शुभ राज्याभिषेक सँगै रामलीला महोत्सव समापन हुने गर्दछ ।




.gif)





