images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार...

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन, ९६ प्रतिशत जनशक्ति ड्युटीमा

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन, ९६ प्रतिशत जनशक्ति ड्युटीमा

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • सुर्खेत । कर्णालीमा चाडपर्व लक्षित ‘सुरक्षा योजना–२०८३’ तयार पारेर लागू गरिएको छ ।प्रदेश प्रहरी कार्यालयले नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वका अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि, सडक दुर्घटना न्यूनीकरण एवं सडक अनुशासन कायम गर्ने उद्देश्यसहित उक्त सुरक्षा योजना तयार पारेको हो ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले आइतबारदेखि सुरक्षा योजना लागू भइसकेको बताए । कात्तिक ३० गते छठ पर्व समाप्त हुँदासम्म यो योजना लागू हुने उनले बताए ।

    images
    images

    ‘चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप हुन वा गर्न नदिई आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ,’ उनले भने ।सार्वजनिक स्थल, मेलापर्व लगायतका स्थानमा झैझगडा, हुलदंगा लगायतका कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि हुन दिइने छैन । बैंक तथा वित्तीय संस्था, सुनचाँदी र गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थान तथा बढी भीडभाड हुने ठाउँमा चोरी, लुटपाट तथा पाकेटमारीका घटनालाई नियन्त्रण गरिने छ ।बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनालाई पूर्ण रूपमा नियन्त्रण गर्ने योजना प्रहरीको रहेको राठौरले बताए ।साथै, सवारी दुर्घटनाका घटना न्यूनीकरण गर्ने, तोकिएभन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउनुका साथै अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा कडा नियन्त्रण गरिने छ ।

    सुरक्षा योजनाअनुसार धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको सुरक्षा व्यवस्था मिलाइने छ । सरकारी कार्यालय तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा पनि गरिने उल्लेख छ ।जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजी खेल्ने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गरिने राठौरले बताए ।प्रहरीले सहरबजार, बैंक तथा वित्तीय संस्था, पर्यटकीय एवं धार्मिक स्थलदेखि विकट ग्रामीण बस्तीसम्म सुरक्षा जालो फैलाएको छ ।त्यसका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयसमेत गरी जम्मा १ हजार ४६२ वटा ड्युटीमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको प्रवक्ता राठौरले बताए ।‘आवश्यकताअनुसार रिजर्भ प्रहरी कार्यालयहरूबाट थप प्रहरी टोली खटाउने व्यवस्था मिलाइएको छ,’ उनले थपे ।

    images
    images

    उनका अनुसार कर्णालीमा ५ हजार ५०७ जना कुल प्रहरी जनशक्ति रहेको छ । त्यसमध्ये ९६ प्रतिशत जनशक्तिलाई प्रत्यक्ष रूपमा चाडपर्व सुरक्षा ड्युटीमा खटाइएको छ ।सुरक्षा योजनालाई प्रभावकारी बनाउन २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती र ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ । त्यस्तै, १४८ वटा पैदल गस्ती टोली तयार गरिएको छ ।यस्तै, २०४ वटा लामो तथा छोटो दूरीका गस्ती गरिने छ भने १७६ स्थानमा पिकेट राखिनेछ । ६७ वटा स्थानमा सवारीसाधनको नियमित, विशेष तथा आकस्मिक चेकजाँच गरिनेछ ।४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकजाँच, ३८ स्थानमा महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र ३७ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरी प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय सीमामा समेत सहायता कक्ष स्थापना गरिएको छ ।२४ वटा अतिसंवेदनशील स्थानमा माइकिङमार्फत प्रचारप्रसार, ३१ स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमन, १० जना विशिष्ट व्यक्तिको सुरक्षा तथा ४९४ वटा अन्य विभिन्न ड्युटीसमेत राखिएको प्रहरीले जनाएको छ ।

    ‘हाम्रो अपेक्षा यसरी काम गर्दा चाडपर्वको अवधिमा अपराध रोकथाम तथा नियन्त्रण हुनेछ,’ प्रवक्ता राठौरले भने, ‘सवारी दुर्घटनामा न्यूनीकरण हुनेछ । चोरी, डकैती, लुटपाटजस्ता आपराधिक गतिविधिमा नियन्त्रण आउनेछ ।’साथै, फरार कैदीबन्दी तथा अभियुक्तहरू चाडपर्वको समयमा आफ्नो घरवतनमा आउन सक्ने र सो अवधिमा आपराधिक गतिविधि बढ्न सक्ने आकलन प्रहरीले गरेको छ । उक्त सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, प्रभावकारी अनुगमन, निगरानी तथा नियन्त्रण गरिने राठौरले बताए ।प्रहरीले चाडपर्वमा सुरक्षा योजनाविपरीतका गतिविधि गर्ने तथा अशान्ति मच्चाउने कार्य भएमा सन्तुलित बल प्रयोगको नीति लिएको छ । त्यसका लागि १ हजार ५३० थान घातक हतियार र २ हजार २७० थानभन्दा बढी गैरघातक साधन (लाठी) परिचालन गर्नेछ ।विभिन्न स्थानमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै २३ स्थानमा सीसीटीभी निगरानी राखेर प्रविधिको समेत उपयोग गरिएको प्रदेश प्रहरी प्रवक्ता राठौरले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend