काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ गीत विवादमा फसेको छ । गीतमा बाहुनहरूलाई होच्याएको भनेर हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएपछि गीत विवादमा तानिएको हो ।गीतको विषयमा साइबर ब्युरोमा उजुरी समेत परेको छ । हिन्दुवादी अभियन्ता सागर थापा लगायतले ब्युरोमा उजुरी दिएका छन् । उजुरीका आधारमा मंगलबार साइबर ब्युरोले सेन्चुरी र हिन्दुवादी अभियन्ताहरूसँग छलफल पनि गरेको छ । छलफल बिना निष्कर्ष टुङ्गिएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीले बताए ।
‘हिजो दुवै पक्षसँग छलफल भएको थियो, उक्त छलफल निष्कर्षमा पुग्न सकेन’ प्रवक्ता गिरीले भने ‘आज फेरि छलफलमा बोलाइएको छ । आज यस विषयमा टुङ्गो लाग्छ होला ।’ गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पङ्तिमा हिन्दुवादी अभियन्ताहरूको आपत्ति रहेको गिरीको भनाई छ । हिन्दुवादी अभियन्ताहरूले गीत हटाउन माग गर्दै आएका छन् ।यस विषयमा गायक सेन्चुरीसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । सेन्चुरीकै शब्द, सङ्गीत र रहेको ‘बाहुन बाजे किन कसेको’ गीत करिब एक महिना पहिले सार्वजनिक भएको हो । पछिल्लो समय यो गीत चर्चामा छ ।




.gif)



