काठमाडौँ । नेपाल सरकारका सचिव गोपालप्रसाद सिग्देलले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् । पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सचिव सिग्देलले विशिष्ट श्रेणी (सचिव) पदको ५ वर्षे कार्यकाल पूरा गर्दै २०८३ साल असोज १३ गते मंगलबारबाट अवकाश लिएका हुन् ।उनको बिदाइको अवसरमा पूर्वाधार विकास मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्री सुनिल लम्साललगायत मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीको उपस्थिति थियो ।सो क्रममा मन्त्री लम्सालले सिग्देलले पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको योगदान र राष्ट्रसेवामा देखाएको निष्ठाको प्रशंसा गर्दै आगामी जीवनको शुभकामना व्यक्त गरे ।
तनहुँमा जन्मिएका सिग्देलको निजामती सेवामा करिब २८ वर्ष ५ महिनाको अनुभव छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र जर्मनीबाट जलस्रोत विषयमा स्नातकोत्तर गरेका उनी विसं २०५५ साल वैशाख १५ गते सिँचाइ विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।सेवा अवधिमा उपसचिव (सि.डि.ई.) र सहसचिव हुँदै विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका उनी विसं २०७८ साल असोज १४ गते सचिव पदमा बढुवा भएका थिए ।लामो कार्यकालमा उनले सडक विभागको महानिर्देशकसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, जल तथा ऊर्जा आयोग र पूर्वाधार विकास मन्त्रालयमा सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए ।




.gif)



