धनगढी। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन्।भारी वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालनमा रोक लगाएपछि यात्रुहरू समस्यामा परेका छन्।शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका हुन्। सुदूरपश्चिमका पहाडी क्षेत्रबाट काठमाडौँ, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ।
लामो दूरीका बस सेवा बन्द भएपछि यात्रुहरू छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनमार्फत गन्तव्यतर्फ जानुपर्ने बाध्यतामा छन्। कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको बताएका छन्।सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेपछि यातायात व्यवसायीले समेत सेवा स्थगित गरेका हुन्।सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्रिबस सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगर्ने निर्णय गरिएको उनले बताए।
‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो, जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ।’, उनले भने।सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौँ र पोखरातर्फ जाने रात्रिबस दुई दिनका लागि सञ्चालन नगर्ने जनाएको छ। धनगढीबाट पोखरातर्फ दैनिक दुई वटा र काठमाडौँका लागि १३ वटा रात्रिबस सञ्चालन हुँदै आएका थिए। मौसम प्रतिकूल भएपछि ती बसलाई गन्तव्यतर्फ पठाइएको छैन।यातायात व्यवसायीहरूले खराब मौसमका कारण लामो दूरीको यात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राखेर सेवा स्थगित गरिएको बताएका छन्। मौसममा सुधार आएपछि मात्रै नियमित रूपमा बस सञ्चालन गर्ने उनीहरूको भनाइ छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेकाले सार्वजनिक यातायात सञ्चालनमा समेत सावधानी अपनाइएको छ। व्यवसायीहरूले मौसमको अवस्था मूल्याङ्कन गरेर मात्रै यात्रुलाई गन्तव्यतर्फ पठाउने बताएका छन्।मौसममा सुधार नआएसम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित यातायात कम्पनीसँग बस सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न व्यवसायीहरूले यात्रुलाई आग्रह गरेका छन्।




.gif)





