काठमाडौँ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा भइरहेको वर्षा अझै दुई दिन पश्चिमी क्षेत्रमा बढ्ने मौसमविद्ले बताएका छन्। लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिमसमेत बढेको छ।मौसमविद् राजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ। पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको उनले जानकारी दिए।उनका अनुसार पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ। कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
‘हाल न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित छ। यो क्रमशः नेपालतर्फ सर्दै जाने र यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,’ मौसमविद् लामिछानेले भने।उनका अनुसार आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ। पूर्वी क्षेत्रमा भने वर्षाको गतिविधि क्रमशः घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ।असोज १० गते शनिबारसम्म न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने भएकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि थप बढ्न सक्ने पूर्वानुमान छ।असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा भने न्यूनचापीय प्रणालीको प्रभाव कायम रहने मौसमविद् लामिछानेले बताए।असोज १२ गतेदेखि देशभरको मौसम क्रमशः सुधार हुने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको मौसम पूर्वानुमान छ।
पश्चिममा जोखिम कायमै
लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रमा बाढी र पहिरोको जोखिम तत्काल नघट्ने मौसमविद्ले बताएका छन्। विशेषगरी भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।मौसमविद् लामिछानेले मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको बताए। मौसमको अवस्था हेरेर आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने उनको भनाइ छ।भारी वर्षा भइरहेका र चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न विभागले आग्रह गरेको छ। विशेषगरी पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्दा थप सावधानी अपनाउन भनिएको छ।




.gif)





