काठमाडौँ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी आवागमनका लागि समयतालिका लागू गरिएको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनका लागि आलोपालो प्रणालीअन्तर्गत निश्चित समयतालिका निर्धारण गरेको हो।महेन्द्र र पृथ्वी राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापन सहज बनाउन हेटौँडाबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौँडातर्फ आउने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ।
प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीका लागि (चौकीटोलबाट प्रस्थान) असोज ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ। असोज १० गते शनिबार बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न सकिनेछ।त्यस्तै, काठमाडौंबाट हेटौँडातर्फ आउने सवारीका लागि (सिमभञ्ज्याङ चौकीबाट प्रस्थान) असोज ९ गते शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म समय निर्धारण गरिएको छ।
ठूला मालवाहक सवारीमा रोक
सडकको अवस्था र जामको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले ठूला मालवाहक सवारी सञ्चालनमा समेत रोक लगाएको छ। अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका सवारीबाहेक ठूला मालवाहक सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।१० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका अन्य सबै मालवाहक सवारीलाई उक्त सडकखण्डमा सञ्चालन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।यात्रुवाहक बसको हकमा भने बढीमा ११ मिटर लम्बाइसम्मका बसलाई मात्र सञ्चालनको अनुमति दिइएको छ।तोकिएको समयतालिका पालना गरी यात्रा गर्न तथा सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालक, यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ।




.gif)





