काठमाडौँ । बंगालको खाडी र अण्डमान सागर आसपास विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको प्रभावसँगै बिहीबार बिहानदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सबैभन्दा बढी पाल्पाको गल्ड्याङगढीमा १५५ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै रूपन्देहीको भगवानपुरमा १५३, कपिलवस्तु र अर्घाखाँचीमा १४५, दाङको कोइलावासमा १०२ तथा तनहुँ र स्याङ्जामा करिब १०० मिलिमिटर वर्षा भएको छ।
मनसुनी वायुसँगै भारतको ओडिसा तथा आन्ध्र प्रदेशको तट पार गर्दै उत्तर–पश्चिमतर्फ सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको विभागले जनाएको छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा भएको छ।
मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार आगामी २४ घण्टामा पनि वर्षाको प्रकृति बिहीबारकै जस्तो रहने सम्भावना छ। लुम्बिनीका तराई क्षेत्र, विशेषगरी पाल्पा र कपिलवस्तुमा भारी वर्षाको सम्भावना रहेको छ भने काठमाडौं उपत्यकासहितका क्षेत्रमा पनि सामान्यदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
नदी तथा तटीय क्षेत्रमा उच्च सतर्कता
गहिरो न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशभरका साना–ठूला नदी तथा खोलामा जलसतह बढ्ने जोखिम छ। विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका नदीमा बाढीको जोखिम उच्च रहेको विभागले जनाएको छ।
शुक्रबार र शनिबार रातिसमेत भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नारायणी, पश्चिम राप्ती, बबई तथा काठमाडौं उपत्यकाका खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी किनार, तटीय क्षेत्र, भिरालो जमिन तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।
राजमार्गमा आवागमनमा कडाइ
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विभिन्न जिल्लामा पूर्वसावधानी अपनाएका छन्। कास्की, दाङ, इलामलगायतका जिल्लामा साँझदेखि बिहानसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डसहित पहाडी राजमार्गमा पनि अत्यावश्यकबाहेक यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
गत महिना भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीका कारण कतिपय पहाडी भूभाग कमजोर बनेकाले सामान्यभन्दा बढी वर्षा हुँदा पनि गेग्रानसहितको आकस्मिक बाढी र पहिरोको जोखिम बढेको छ।
जोखिमलाई ध्यानमा राख्दै काभ्रे, मकवानपुर, गुल्मी, खोटाङ, नवलपरासी लगायतका जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयमा दुई दिनका लागि सार्वजनिक बिदा दिएका छन्। प्रतिकूल मौसमका कारण विभिन्न राजनीतिक दलका अधिवेशनसमेत स्थगित भएका छन्।
कहाँ–कहाँ हुन सक्छ डुबान?
मौसमविद्हरूका अनुसार सहरी क्षेत्रमा वर्षाको मात्रा मात्रै नभई ढल निकासको क्षमता, नदी तथा खोलाको अवस्था, जमिनको बनावट र पानी सोस्ने क्षमताले पनि डुबानको जोखिम निर्धारण गर्छ।
काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा छोटो समयमा ५० देखि ८० मिलिमिटर हाराहारी वर्षा हुँदा कमजोर ढल निकासका कारण धोबीखोला, मनहरा, नक्खु तथा अन्य खोला करिडोर आसपासका क्षेत्रमा आकस्मिक डुबान हुन सक्छ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुँदा बागमती, विष्णुमती, धोबीखोला र हनुमन्ते आसपासका तल्लो भूभागमा जोखिम बढ्न सक्छ। नदी किनारमा भएका बस्ती तथा कमजोर जलनिकास भएका क्षेत्रमा यसको प्रभाव अझ बढी पर्न सक्छ।
त्यसैगरी १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुँदा तराई तथा भित्रीमधेसका तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र लेदो बहावको सम्भावना उच्च हुन्छ। झापा, मोरङ, रूपन्देही र कपिलवस्तुलगायतका जिल्लाका तल्लो भूभागमा विशेष सतर्कता आवश्यक देखिन्छ।
वर्षाको मात्रा २०० मिलिमिटरभन्दा माथि पुगेमा ठूला नदी तथा खोलामा बाढीको जोखिम थप गम्भीर बन्न सक्छ। यस्तो अवस्थामा कोशी, गण्डकी, नारायणी र कर्णाली नदी प्रणालीका तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने तथा पहाडी राजमार्गमा पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिम रहन्छ।
बिहीबार विशेषगरी पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान र दाङ भएर बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम उच्च रहेको जनाइएको छ।
बाढी पूर्वानुमान प्रणाली विस्तार
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारले ठूला नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ। साना खोला तथा नदीमा आउने आकस्मिक बाढीसम्बन्धी सूचना पनि करिब ४८ घण्टा अगावै उपलब्ध गराउने प्रणाली प्रयोगमा ल्याइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो भूभाग र कमजोर सडकखण्डमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र मौसम विभागले जारी गर्ने पूर्वसूचनालाई प्राथमिकताका साथ पालना गर्नुपर्ने देखिएको छ।




.gif)





