images

२०८३ आश्विन १५ गते

images
images
images
  • अन्य
  • भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी...

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • खोटाङ, ९ असोज । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ । 

    images
    images

    अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार यही असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ । 

    images
    images

    प्रशासनद्वारा जारी सूचनाको बर्खिलाप हुनेगरी व्यवसायीले सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।

    नदी तथा खोलाकिनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन, जोखिमको सङ्केत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ । 

    त्यस्तै, अतिआवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको  छ ।

    पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित गरी तयारी अवस्थामा राख्नसमेत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै, खोटाङका दशवटै स्थानीय तहका शैक्षिक संस्थाले बिदा दिएका छन् ।

    बेमौसममा सुरु भएको भारी वर्षाका कारण जिल्लाका किसान चिन्तित भएका छन् ।  वर्षाले पाक्न लागेको अन्नबालीमा ठूलो क्षति पुग्ने भएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् । 

    रोल्पामा सवारी सञ्चालनमा रोक  

    अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आइतबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म रोल्पाका मुख्य तथा सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । रोल्पा र छिमेकी जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिएका छन् । 

    उन्का अनुसार अत्यधिक भारी वर्षाका कारण बाढी, पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्भावित धनजनको क्षति हुन नदिन रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । प्रशासनका अनुसार जिल्लाभित्र पर्ने मदन भण्डारी राजमार्गका सबै सडकखण्ड २४सै घण्टा बन्द गरिनेछ । 

    सहिदमार्ग, सुलिचौर–लिवाङ सडकलगायत अन्य स्थानीय सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ  । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । विपद्को घटना भएमा, तत्काल उद्धार गर्नुपर्ने अवस्था भएमा, सडक अवरुद्ध भएमा नेपाल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 

    रुकुमपूर्वमा सवारी सञ्चालनमा रोक 

    भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रुकुमपूर्वमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाका मुख्य राजमार्ग तथा भित्री सडकमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

    सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमद्वारा जारी सूचनामा दिउँसोको समयमा मौसम र सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न तथा गराउन आग्रह गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend