काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ।सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेबिच भएको छलफलमा यस्तो निर्देशन दिइएको हो ।छलफलका क्रममा सभापति गजुरेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे गम्भीरतापूर्वक अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उनले निष्पक्ष छानबिनमार्फत वास्तविक अवस्था बाहिर ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा उपत्यकाको सडक यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारले ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ लैजान छलफल अगाडि बढाएको सभापति गजुरेलले जानकारी दिए।छलफलमा सडकमा खटिने ट्राफिक प्रहरीको सेवा प्रवाहलाई मर्यादित बनाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो । सभापति गजुरेलले ट्राफिक प्रहरीलाई सार्वजनिक सेवा प्रवाहमा ‘व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पूर्ण पारदर्शिता’ कायम राख्न निर्देशन दिए।त्यसैगरी, सडकमा खटिने प्रहरीको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक तयारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसका लागि ट्राफिक प्रहरीहरूलाई चाँडै मनोवैज्ञानिक कक्षा तथा आवश्यक परामर्श कार्यक्रम सञ्चालन गर्न उनले निर्देशन दिए ।
छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनका विद्यमान चुनौतीहरूबारे जानकारी गराएका थिए । उनका अनुसार हाल उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् भने तिनको व्यवस्थापनमा करिब १ हजार ३ सय ट्राफिक प्रहरी मात्र परिचालन रहेका छन्।सीमित जनशक्ति र बढ्दो सवारी चापका कारण उत्पन्न चुनौतीलाई सम्बोधन गर्न ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै लैजानुपर्नेमा छलफलमा जोड दिइएको थियो ।




.gif)





