काठमाडौँ । बाढीपहिरो र नदी कटानबाट सडक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सरकारले दीर्घकालीन समाधानका रूपमा अब ‘अग्ला पुल’ निर्माण गर्ने नीति लिने भएको छ ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विपद्का यस्ता समस्या समाधान गर्न आगामी दिनमा पुलको डिजाइन परिवर्तन गरी अग्ला पुलहरू निर्माण गरिने जानकारी दिएका हुन् ।
भदौ १० गतेको बाढीले त्रिशूली नदीका ३७ पुलहरू बगेको र सडक सञ्जाल टुटेको सन्दर्भमा सचिव सिग्देलले भने, ‘यस्ता बाढी पहिरो र विपद्का समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि अब हामी अग्ला पुल निर्माण गर्नेतर्फ अघि बढ्नेछौँ ।’साथै तत्काल सडक सञ्जाल सुचारु गर्नका लागि मन्त्रालयले बेलिब्रिज जडानलाई प्राथमिकता दिएको छ । तर, लामो दूरीका पुल बगेका स्थानमा भने चुनौती थपिएको छ ।‘तत्काल सडक सञ्जाल जोड्नका लागि अस्थायी बेलिब्रिज जडान गरेका छौँ। तर, हामीसँग १०० मिटर लामा बेलिब्रिज नहुँदा काममा समस्या भयो,’ सचिव सिग्देलले भने, ‘यसका लागि हामीले दातृ राष्ट्रहरूसँग सहयोग मागेका छौँ। उहाँहरूबाट बेलिब्रिज आएपछि अस्थायी रूपमै भए पनि सडक सञ्जाल जोड्ने काम हुनेछ ।’सचिव सिग्देलले भर्खरैको बाढीपहिरोबाट सडक पूर्वाधारमा करिब २० अर्ब रुपैयाँ बढीको क्षति भएको विभागीय मूल्याङ्कन रहेको बताए । कोरिडोर भित्रका स्थानीय तहहरूसँगको समन्वयमा कुन–कुन आयोजनामा क्षति पुगेको छ भन्ने विवरण मन्त्रालयमा आइसकेको र सोही आधारमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाको खाका तयार पारिएको उनले बताए । ‘विपद् व्यवस्थापन प्राधिकरणबाट अनुमोदन गराएर अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरिदिए तत्काल ठेक्का लगाएर काम सुरु गर्न हामी तयारी अवस्थामा छौँ,’ उनले भने ।
अहिले तत्कालको पुनर्स्थापनाको कामलाई तीव्रता दिन मन्त्रालयले २१ दिने कार्ययोजना बनाएर काम गरिरहेको छ । ८ वटा छुट्टाछुट्टै समिति गठन गरी काम भइरहेको र त्यसको प्रत्यक्ष संयोजन मन्त्रालयबाटै आफूले गरिरहेको सचिव सिग्देलले जानकारी दिए । ती समितिहरूले दैनिक गतिविधिको रिपोर्टिङ गरिरहेका छन् ।




.gif)





