न्युयोर्क । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ ।तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहौल भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस अगाडि जानकारी दिइसकेका छन् ।यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरू भरिभराउ छन् । होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरूको चहलपहल देखिन्छ । विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरूको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ । राष्ट्रसङ्घको महासभाको समाचार सङ्कलनका लागि उनीहरू खटिएर आएका र आफ्ना काम सुरु गरिसकेका छन् ।
समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन डिसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका रहेको छ । यसैगरी इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहु लगायतका नेताहरू न्युयोर्क आइपुग्दैछन् ।विश्वभरिका शासकदेखि प्रशासकसम्म, अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी दस दिनसम्म खचाखच रूपमा भरिनेछन् । विदेशी विशिष्ट पाहुनाहरू र त्यसमाथि पनि सरकार प्रमुखहरूको बसाइ यही एक माइलभित्र रहेका सुविधासम्पन्न र विश्वकै महँगा होटलहरूमा रहने गरेका छन् । तीमध्ये मिलेनियम हिल्टन न्यूयोर्क वन यूएन प्लाजा, द वेस्टिन न्यूयोर्क ग्रान्ड सेन्ट्रल, वालड्रफ अस्टोरिया न्यूयोर्क, हयात ग्रान्ड सेन्ट्रल लगायतका होटलहरूमा बुकिङका लागि बन्द गरिएको छ । यस अगाडि बुकिङ भइसकेका या कतिपय मिसनहरू (राष्ट्रसङ्घका लागि दूतावास) ले अग्रिम बुकिङ गरिसकेका छन् ।यतिखेर ती होटलका कर्मचारीहरूलाई भ्याइनभ्याइ रहेको देखिएको छ । उनीहरू पनि पाहुनाहरूको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन् । उनीहरू कुनै पनि पाहुनाका लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन् । त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहलपहल देखिन्छ ।
अहिले राष्ट्रसङ्घको मुख्यालय वरिपरि पैदल हिँड्न बन्द गरिएको छ भने न्युयोर्क प्रहरीले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ । यहाँ वरपर भारी सङ्ख्यामा ब्यारियरहरू राखिएका छन् । उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ गर्नेदेखि पाहुनाहरूलाई होटल र एयरपोर्टसम्म पुर्याउन कतिपय बाटोहरू एकतर्फी आवागमन र कतिपय बन्द गरिएको छ । राष्ट्रसङ्घले नै भिजिटरहरूका लागि अक्टोबर १२ सम्मलाई बन्द गरेको छ ।यहाँ आवागमनका लागि बाटोहरू बन्द भए पनि सर्वसाधारणका लागि भने अन्डरग्राउन्डबाट चल्ने रेलवे सिस्टम भएकाले आफ्ना काममा आवतजावत गर्न गाह्रो हुँदैन ।मुख्य रूपमा मिडटाउन म्यानहटन, युनाइटेड नेसन्स हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरूको आयोजना गर्न पनि रोक लगाइएको छ । न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिस्चले संवाददाताहरूसँग कुरा गर्दै भनिन्— न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्ण रूपमा तयार र सतर्क रहेको छ ।
न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरूमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर आफूहरूलाई महासभामा भाग लिन आउनेहरूको विषयमा स्पेशल भनेर भनिएको हुँदैन । उनका अनुसार यो समयमा होटलहरूको उच्च दरको बुकिङ हुने भएकाले मूल्य पनि महँगो पर्ने हुन्छ । त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायती मूल्यमा होटल प्राप्त गर्न सकिन्छ ।म्यानहटनमा नै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवाल यो समयमा उपहारका सामानहरूको व्यापार बढी हुने बताउँछन् । उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार बढी हुने तथ्याङ्क आफूसँग रहेको बताए ।न्युयोर्कमा नै बसेर उबर चलाउँदै आएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने, अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी त हुन्छ । गुरुङका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायती हुन्छ ।संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ । यसपटकको महासभाको “विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ” भन्ने नारा रहेको छ ।
नेपालको तयारी
न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभाको ८१औँ सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन् । यस सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्युयोर्क आइपुग्नेछन् ।भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यस पटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ । त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्वपूर्ण रहेको छ ।महासभाको एक मुख्य एजेन्डा नै जलवायु परिवर्तन हो । यसलाई नेपालले मुख्य रूपमा प्रभावित देशको उदाहरणसहित आफ्नो आवाजलाई बुलन्द बनाउन सक्नेछ । एकातिर विश्वजगत्ले समुद्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा, पूर्वाधारको क्षति बढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । अर्कातर्फ विश्वका उच्च शिखरहरूमध्ये नेपालका आठ शिखर पग्लिँदै गएर अन्ततः समुद्र सतह वृद्धि नै हुनेछ । त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु दि सी लेभल’ भन्ने नाराका साथ ‘साइडलाइन इभेन्ट’ महत्वपूर्ण हुने नै छ ।
त्यसमाथि नेपालले हरित ग्यास उत्सर्जनमा कम योगदान तर क्षतिमा बढी व्यहोर्नुपरेकाले हानि–नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ । विश्वका विकसित देशहरूले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो समय उपयुक्त भएकाले राष्ट्रसङ्घका अधिकारीहरू नै यसलाई जोडतोडका साथ उठाइरहेका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरू र मानिसहरूको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भनेका थिए ।गत बुधबार मात्रै पनि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राखेका हुन् ।
संवाददाताहरूले उच्चस्तरीय बैठकहरूमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्बन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले अगाडि थपे– तीन वर्ष अगाडि म अन्नपूर्ण र सगरमाथाका हिमनदीहरूमा गएको थिएँ, त्यति बेला नै मैले भनेको थिएँ कि अवस्था निकै खराब हुँदै गइरहेको छ र कुनै पनि विनाशकारी घटना घट्न सक्छ र अहिले त्यस्तै भएको छ ।महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरूको अवस्था अझै बिग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरेका छन् । यसैले यस पटकको महासभामा नेपालले जलवायु न्याय के कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो तर नेपालले आफ्नो भनाइ राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ । आशा गरौँ अरू महासभाभन्दा नेपालले यो महासभाबाट बढीभन्दा बढी लाभ लिन सफल होस् ।
समयमा नै सचेतता नअपनाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर राष्ट्रसङ्घको महासभालाई नै अवरोध पुर्याउने पो हो कि ? त्यसैले जलवायु परिवर्तन जस्तो गम्भीर समस्याले विश्वको मानचित्रमा नै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरूले प्रतिबद्धताअनुसारको काम गरेर भावी पुस्ताका लागि सबल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस् ।




.gif)





