images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री...

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् । भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिको पछिल्लो अवस्थाको बारेमा परराष्ट्र मन्त्री खनालसँग छलफल भएको बताइएको छ ।  बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् ।उनले त्यसबारेमा पनि परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ । दक्षिण कोरियाका ‘कोरिया डिजास्टर रिलिफ टिम’ यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ । 

    images
    images

    भेटमा आवश्यक परे थप सहयोग र प्राविधिक पठाउन सकिने धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले बेपत्ता भएका कोरियाली नागरिकलाई खोजी गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्दै कोरिया सरकारले विपद्को समयमा देखाएको सौहद्रताप्रति धन्यवाद ज्ञापन गरेका थिए । परराष्ट्रमन्त्री खनालले बाढी पीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति समेत धन्यवाद व्यक्त गर्दै विपद् पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुनेगरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार पुनर्निर्माण अघि बढाइने बताएका छन् । यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरेका छन् । 

    भेटवार्तामा परराष्ट्रमन्त्री चोले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकहरूले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै चोले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकार्य गर्नुपर्नेमा समेत जोड दिएका छन् ।भेटमा मन्त्री चोले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै, नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले समेत आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images

    नेपाल र गणतन्त्र कोरियाबिच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायतका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबिचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ । विदेश मन्त्री चो आफ्नो विशेष विमानबाट शनिबार नेपाल आएका थिए । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend